काठमाडौँ । नेपाल आयल निगमले भोलि बुधबारदेखि देशभर साविककै १४.२ केजीको पूरा ग्यास सिलिन्डर बिक्री वितरण गर्ने निर्णय गरेको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट एलपी ग्यासको आयात र आपूर्ति प्रणाली सहज भएसँगै निगमले पूरा सिलिन्डर बजारमा पठाउन लागेको हो ।
मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै निगमका प्रवक्ताले नयाँ व्यवस्था लागू भएसँगै अब उपभोक्ताले १४.२ केजीको पूरा ग्यास सिलिन्डर २ हजार ६० रुपैयाँमा खरिद गर्न पाउने जानकारी दिए । यसअघि तत्कालीन असहज परिस्थितिलाई दृष्टिगत गर्दै निगमले २०८२ साल फागुन २९ गतेदेखि बजारमा ७.१ केजीको आधा सिलिन्डर ग्यास मात्र भरी बिक्री वितरण गर्ने निर्णय गरेको थियो ।
आईओसीका विभिन्न बोटलिङ प्लान्ट र रिफाइनरीहरूबाट ग्यास लोड हुने अवस्थामा सुधार आएपछि र बजारमा १४.२ केजीको सिलिन्डरको उच्च माग रहेकाले निगमले पुरानै व्यवस्था कायम गरेको हो । यद्यपि, केही समयका लागि बजारमा ७.१ केजीका आधा सिलिन्डरहरू पूर्ण रूपमा प्रतिस्थापन नहुन्जेल दुवै प्रकारका सिलिन्डर बिक्री वितरणमा रहने निगमले जनाएको छ ।
निगमले बजारमा दुवै तौलका सिलिन्डर उपलब्ध हुन सक्ने भएकाले उपभोक्ताहरूलाई तौल र मूल्य यकिन गरेर मात्रै ग्यास खरिद गर्न आग्रह गरेको छ । ७.१ केजी र १४.२ केजी दुवै सिलिन्डरको मूल्य सोही तौलको अनुपातमा निर्धारण हुने समेत निगमले स्पष्ट पारेको छ ।
