काठमाडौँ। नेपालले सीमापार विद्युत् व्यापारमा ठूलो सफलता हासिल गर्दै आर्थिक वर्ष २०८२/०८३ मा २९ अर्ब ३२ करोड ४७ लाख रुपैयाँको बिजुली बिक्री गरेको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार भारत र बङ्गलादेशतर्फ भएको यो निर्यात अघिल्लो आर्थिक वर्ष (२०८१/०८२) को १७ अर्ब ४५ करोड ८७ लाख रुपैयाँको तुलनामा ६७.९६ प्रतिशतले बढी हो।

समीक्षा वर्षमा विद्युत् निर्यातको परिमाण ६२.८९ प्रतिशतले बढेर ३ अर्ब ८७ करोड ७४ लाख युनिट पुगेको छ। भारतका विभिन्न ऊर्जा बजार (आईईएक्स र एनभीभीएन) तथा बङ्गलादेशसँगको त्रिपक्षीय व्यापारमार्फत औसत प्रतियुनिट ७ रुपैयाँ ५६ पैसाका दरले विद्युत् बिक्री गरिएको प्राधिकरणले जनाएको छ।

बिजुली निर्यातमा उच्च वृद्धि भएसँगै भारतबाट हुने आयातमा भने उल्लेख्य गिरावट आएको छ। अघिल्लो वर्ष १२ अर्ब ९२ करोड रुपैयाँको विद्युत् आयात भएकोमा समीक्षा वर्षमा १८.२९ प्रतिशतले घट्दै १० अर्ब ५५ करोड ९९ लाख रुपैयाँमा सीमित भएको छ।

निर्यात आम्दानीबाट आयात खर्च घटाउँदा नेपालले आव २०८२/०८३ मा १८ अर्ब ७६ करोड ४८ लाख रुपैयाँ खुद व्यापार बचत (Net Profit) गरेको छ। अघिल्लो वर्ष ४ अर्ब ५३ करोड रुपैयाँ मात्र रहेको यस्तो खुद बचत एकै वर्षमा करिब चार गुणा (३१३ प्रतिशत) ले बढेको हो।

जलविद्युत् उत्पादन क्षमतामा भएको विस्तार, प्रसारण लाइनको सुदृढीकरण र बङ्गलादेशसम्म व्यापारको ढोका खुलेसँगै वर्षायामको बढी बिजुली बेच्ने र सुख्खायाममा आवश्यकताअनुसार मात्र आयात गर्ने नेपालको रणनीति सफल देखिएको छ।

Share.

Comments are closed.

Exit mobile version