मेरो अँगालोमा बाँधिएर ऊ धेरै बेर रोइ ।
शायद पहिलो पटक हुनुपर्छ, नत्र यो चञ्चल हँसमुख र गफी केटीका आँखाहरूमा अनायास यस्तरी आँसु भरिएको मैले कहिल्यै देखेको थिइनँ ।
रबिन स्क्वायरको फराकिलो आँगन होस् या साँझ ढलेपछिको सामुद्रिक किनार हरेक पलको भेटमा उनीसँग खुसी भएका रमाइला क्षणहरू मात्र सम्झनामा छन् । हाँसेका, रमाएका र गफिएका पलहरू छन् । तेल अभिभको इबेन गिबरोलस्थित नगरपालिका भवन अगाडि विशाल प्राङ्गण छ जहाँ तलाउको छेवैमा राखिएका कुर्सीमा बसेर हामी दुई बिदाइका अन्तिम पलहरू गनिरहेका छौ ।
छुट्टिने बेला उसको अनुहार मलिन र आँखाहरू रसिला भएका छन् । चुपचाप छौँ । बोल्ने शब्दहरू कतै लुप्त भएका छन् । यति बेला रबिन स्क्वायर र यो सहर पुरै सुनसान छ, स्तब्ध छ, मानौँ कैयौँ जुलुस, भाषण, विरोधका भीडहरू वा सांस्कृतिक कन्सर्टहरूको धङधङीबाट क्लान्त भएर आज यो निदाएको होस् । बायाँ छेउमा इज्याक रबिन मूर्ति बनेर उभिएका छन् जो कुनै दिन यही आँगनमा भेला भएकाहरूलाई सम्बोधन गर्दागर्दै गोली खाएर ढलेका थिए, त्यही बेला देखि यसलाई रबिन स्क्वायर भनिन थाल्यो ।
अगाडि डेभिड मेलेख (राजा डेभिड) नाउँ गरेको सडक फैलिएको छ, जो सिधा इखिलोभ अस्पतालसम्म पुग्छ, मेरो कर्मथलो, जहाँ पहिलो पटक हाम्रो भेट भएको थियो । दुवै आफ्नो देशबाट टाढा इजरायलमा काम गर्न आइपुगेको नाताले आफ्नै भाषामा सुख दुख बाँड्ने र एउटै प्रकृतिको काम र कर्मथलोमा भेटिएका सहयात्री मात्र थियौँ हामीहरू । ऊ न मेरी प्रेमिका न जीवनसाथी, तर हाम्रा अनुभूति र भोगाइहरू समान थिए ।
सधैँ जस्तै आज पनि शपिङ सेन्टरको ढोका अगाडि उभिएर एउटा मगन्ते बुढो विरही धुनमा भायोलिन बजाइरहेको छ, उसले गाएको नबुझिने सङ्गीतजस्तै उदास छन् हाम्रा अनुभूतिहरू …
बुझ्ने नसकिने, अर्थ लाउनै नसकिने ।
म सान्त्वना दिँदै उसका हातहरू समाउँछु, छुट्दा यति साह्रो दुख्नुपर्ने गरी हामी गाँसिएकै कहाँ थियौँ र ? तर पनि बिदाइ कति नमिठो ।
यस अघि रबिन स्क्वायरको यो आँगन यति उदास र अप्रिय कहिल्यै लागेको थिएन मलाई तर आज किन किन यो पार्क, पोखरी र व्यस्तता घिसार्दै बगेका यी सडकहरू अचम्मसँग नमिठा लागेका छन्, वियोगपूर्ण कथाहरूको धमिलो कोलाज जस्तो ।
नबिर्सनु अर्थात् सम्झनु यो मेरो लागि अत्यन्त कठिन विषय थियो । विशेष गरी अल्जाइमरले ग्रस्त भएकाहरूको ख्याल गर्दा गर्दा ‘नबिर्सने कुरा’ अत्यन्त भारी चुनौती झैँ लाग्न थालेको थियो मलाई । तर जे जे बिर्सिए पनि ‘गफी’लाई बिर्सिन कहाँ सजिलो थियो र ?
ऊ अत्यन्त रमाइलो स्वभावकी थिई । गम्भीरताको सानो लेशसम्म थिएन उसमा । यसैले पनि ऊसँगको साथ मेरा लागि महत्त्वपूर्ण थियो । मेरा एक्ला र निरस पलहरूमा उसको उपस्थितिले खुसी बोकेर ल्याउँथ्यो । म बोल्दै नबोल्ने र ऊ खुब गफ गर्ने मान्छे, त्यसैले म उसलाई ‘गफी’ भन्थेँ । बाहिर जे नाम र परिचय लिएर हिँडेकी भए पनि ऊ मेरा लागि रमाइली, चटपटी र ‘गफी’ थिई ।
नेपाल गएपछि फेरि इजरायल फर्कन्न भन्ने उसलाई राम्रोसँग थाहा थियो । मेरा अनेकौँ सपनाहरू थिए, इच्छा र आकाङ्क्षाहरू थिए । विदेशको रहरले ती सबै चुँडिएका थिए, तिनलाई फेरि जोड्ने यत्नका लागि परदेश मोह त्याग्नु अपरिहार्य थियो ।
क्षणभङ्गुर छ मानिसको जीवन, यही छोटो समयमा पनि हामीले कुन बाध्यतामा आफ्ना अमूल्य यौवनहरू, समयहरू बिक्री गरेका थियौँ । यो नियति ऊसँग पनि थियो र मसँग पनि । हरेक पल को हिसाब कति अमूल्य थियो हाम्रा लागि यसर्थ ऊ सधैँ मुस्काउँथी र हाँस्न सिकाउँथी । भन्थी – रोएर, दुखी भएर बरबाद गर्नका निम्ति हामीसँग समय नै कहाँ छ र ?
यद्यपि मलाई थाहा थियो यो केटीसँग मेरो जस्तै कथा छ विवशताको, यो विदेशमा त्यही बाध्यतालाई अङ्गालेर रोइबस्ने समय कहाँ पो थियो र ? यसर्थ आफ्ना सबै खाले विगतलाई मनको दराजमा सपक्क थन्क्याएर हामीले हाँस्न सिकिसकेका थियौँ ।
पहिले पनि रबिन्स स्क्वायरको यो आँगनमा गफी र म धेरै पटक घुम्न आएका छौँ । जाडो महिनामा कफी र गर्मीमा जुस पिउँदै घण्टौँ घण्टा गफिएका छौँ । धेरै पटक अरू नेपाली, रसियन र फिलिपिनोहरू पनि हामीसँग सामेल भएर गफ गर्न यहाँ आएका छन् । अब ती सबैलाई अतीतको नाम दिएर छाती भित्र राख्नेछु र बेला बेला पल्टाउनेछु । म सोच्छु – ती मध्ये सबैभन्दा मिठो सुखद र अविस्मरणीय हुनेछ गफी सँगका पलहरू । भोलि देखि जीवनले नयाँ मोड लिँदै छ, अन्ततः भविष्यका केही कल्पनाहरू र विगतका केही सम्झनाहरू बोकेर मेरो यो यात्रा विश्राम लाग्दै छ र गन्तव्यमा काठमाडौँ लेखिएको नयाँ यात्रा आरम्भ हुँदैछ ।
समुद्रमा छालहरू छचल्किएझैँ मनमा अनेकौँ कल्पनाका तरङ्गहरू मडारिइरहेका छन् । के यो केटीलाई म जीवनभर सम्झिरहुँला? या बिर्सिउँला कुनै धमिलो सपनाजस्तो ? बगिजाने निठुरी समयको के भर ?
कतिखेर समय बितिसकेछ पत्तै भएन, हजारौँ रङ्गिन बत्तीहरूको चमक बोकेर तेल अभिभ सहरले आफ्नो रूप बदलिसकेको थियो । अब हामी दुई ले बिदाइको हात हल्लाउनु र आफ्नो आफ्नो बाटो लाग्नु थियो । साँझ ढलेपछि सूर्यले झैँ चुपचाप बिदा माग्नु थियो ।
जाने घडी उसको आँखामा आँसु पोखिनु एकदम अस्वाभाविक र अनपेक्षित थियो । यदि हामीमा प्रेम पलाएको थियो भने जरुर भन्न सक्थ्यौँ । बर्सौँ देखि फुल्दै र झर्दै गर्ने यही सडक किनारको सिरिसको रुखनेर उभिएर वा उद्यानको अलि पर कुनामा राखिएको बेन्चमा बसेर हामी निस्फिक्री प्रपोज गर्न सक्थ्यौँ । वा कुनै न कुनै बेला अभिव्यक्त हुन्थ्यो होला तर त्यस्तो कहिल्यै भएको थिएन ।
म असमञ्जसमा परेँ, मलाई सोध्न मन लाग्यो – गफी के तिमी मलाई प्रेम गर्छौ ? तिम्रो आँखाको आँसुलाई म कसरी अर्थ्याऊँ गफी ? के यो बिदाइको सामान्य भावुकता मात्र हो या तिम्रो प्रेम आँसु बनेर पोखिएको ? तर मेरा ओठहरूबाट कुनै शब्द निस्किएनन् । वातावरण एकदम मौन थियो ।
उसका आँसुहरू अब थामिएका थिए ।
मेरो छातीभित्र सकेसम्म आफूलाई लुकाएर उसले भनी – “आई लभ यु .. ”
आकाश छुने उद्दाम रहर बोकेर उफ्रिरहेका पानीका चञ्चल फोहोराको कलकल सङ्गीतसँगै मिसिएर उसका यी तीन शब्दहरू धेरै बेर गुन्जिरहे, प्रति ध्वनित भइरहे ।
———————–
(समयको नदी कति वेगसँग बग्दो रहेछ । बिस वर्ष पछि ….)
आँखाहरू पनि अब त धमिला देखिन थालेका छन् । कथाजस्तो सम्झना या सम्झनाजस्तो कथा – केही लेख्न बसेको छु । भित्रबाट श्रीमतीजी प्रश्न गर्छिन् – “अघिदेखि एक्लै हाँस्दै के लेख्दै छौ हँ ? ”
रोमान्टिक भएर भनिदिन्छु – “अ लभ स्टोरी डियर …”
“यो उमेरमा पनि अझै तिम्रो ‘लभ स्टोरी’ लेख्ने बानी हराएन है ? ” सधैँजस्तै उ प्रश्न गर्छे ।
म भन्छु – “यो बिस वर्ष अघि हामी इजरायल हुँदाको कथा हो – यो तिम्रो कथा हो ‘गफी’ ।”
————–