काठमाडौं । माधवकुमार नेपाललाई प्रधानमन्त्रीको र झलनाथ खनाललाई राष्ट्रपतिको लोभ छ । एमालेसँग मिलेर जाँदा केपी शर्मा ओलीबाट ती पद पाइँदैन । त्यसैले प्रचण्डकै टाङमा छिर्नु उपयुक्त हुने दुवैको साझा निष्कर्षले अन्ततः एकीकृत समाजवादीले विसर्जनको बाटो समातिरहेको छ ।१०औँ महाधिवेशनबाट चयन हुनुपर्ने पार्टीका केन्द्रीय सदस्यको छनौट निश्चित नेताका बीच भागबण्डा लगाएर गरिँदाको असन्तुष्टिले देशव्यापी फैलिएको निराशा माओवादीसँगको एकता अभ्यासमा लाग्दा झन् बाक्लिएको छ ।एमालेमा एउटा ओलीमात्रै खराब थिए, सिंगो पार्टी गलत थिएन । ‘ओली खराब हुन्’ भन्दाभन्दै एकीकृत समाजवादीभित्र उनीभन्दा खराब नेता निस्किनाले अहिले माओवादीसँग एकतामा जानुभन्दा एमालेमै फर्किनुपर्छ भन्ने मत पार्टीभित्र बलशाली भएको छ ।अहिले माधव नेपालले बिर्सिएको या बिर्सिएजस्तो गरेको विषय हो, प्रचण्डले गत वर्ष नेपाली कांग्रेससँग गरेको सत्ता सहकार्यका क्रममा भएको सहमति । उक्त सहकार्यलाई प्रचण्डले एकतर्फी रुपमा गत फागुनमा तोडे । कस्तो बेलामा भने जतिबेला पूर्वसहमतिअनुसार माधव नेपालको प्रधानमन्त्री बन्ने दिन नजिकै आइरहेको थियो ।

अर्थात्, हिजो माधव नेपालको मुखमा आएको प्रधानमन्त्री खोस्नका निम्ति ओलीसँग मिल्ने प्रचण्डले अब उनको पार्टीलाई आफ्नो पार्टीसँग मिलाएर सर्लक्कै प्रधानमन्त्री बनाइदिन्छन् भन्ने कुरा केटाकेटीले पनि पत्याउने अवस्था छैन ।

तर, माधव र झलनाथ त्यस्ता कुरा पत्याएर एकताको लागि छलफलमा व्यस्त छन् । त्यसमाथि अहिलेको राजनीतिक गणितभित्र प्रचण्डले न कसैलाई प्रधानमन्त्री बनाउने ल्याकत राख्छन्, राष्ट्रपति त झन् टाढाको कुरा ।

माधव–झलनाथलाई एकतामा ल्याउँदा उनीहरूसँग भएको प्रतिनिधिसभाको १० र राष्ट्रियसभाका ८ सांसद आफ्नो पोल्टामा पर्ने र त्यो संख्या गन्तीका आधारमा आफैँ एकचोटि प्रधानमन्त्री हुने दाउमा प्रचण्ड छन् ।

अर्थात्, प्रचण्डकै शब्दमा माधव–झलनाथको ढाडमा टेकेर उनीहरूकै टाउकोमा हान्ने अस्त्र फ्याँकिएको छ । त्यस्तो खाले एकताबाट प्रचण्ड आफू लाभान्वित हुने र माधव नेपालहरूको एकीकृत समाजवादी पार्टी समाप्त हुने स्थिति रहन्छ । यद्यपि, त्यसकिसिमको एकतामा सबै सांसदले माधव–झलनाथलाई साथ दिने सम्भावना देखिएको छैन ।

एकातिर केही नेताको खल्तीबाट छानिएको केन्द्रीय सदस्यका कारण निराशा र आक्रोश नभएका ठाउँ कतै छैनन् । त्यसमाथि माओवादीसँग मिल्ने कुराले अर्को भद्रगोल निम्त्याएको छ । एकतापूर्व केन्द्रबाट जिल्ला–जिल्लामा एउटा प्रश्न सोधिएको छ, ‘यदि माओवादीसँग एकता गरिने भयो भने के हुन्छ ?’ सम्बन्धित प्रदेशका इन्चार्जमार्फत सोध्न लगाइएको यो प्रश्नमा केन्द्रित भएर केही जिल्ला कमिटीका बैठक सम्पन्न भए ।

अधिकांश जिल्ला कमिटीले केन्द्रीय सदस्यका निम्ति गरिएका सिफारिस कार्यान्वयन नभएको असन्तुष्टिका कारण बैठक नै बोलाएका छैनन् । बैठक बसेजतिका जिल्ला कमिटीका एउटै भनाइ छन्, ‘त्यसो गर्नुभन्दा एमाले फर्किनु बेश । सकिनु नै छ भने माओवादी भएर किन सकिने, एमाले भएर सकिन्छौँ ।’

उदाहरणका लागि काठमाडौंका अध्यक्ष एलपी श्रेष्ठहरू निराश छन्, तर अहिल्यै पार्टी छाडिहाल्ने पक्षमा छैनन् । उनीहरूले माधव नेपालसँग सामूहिक रुपमा कुरा गर्ने भनेका छन् । तर, समय पाएका छैनन् । यदि माधवसँग कुरा मिलेन भने सामूहिक रुपमा पार्टी छोड्ने र एमालेमा फर्किने भनिरहेका छन् ।

महाधिवेशनमा रुपन्देही जिल्लाबाट २०–२२ जना प्रतिनिधि गए । केन्द्रीय सदस्यको सूची आउँदा महाधिवेशनका एकजना प्रतिनिधिको नाम परेन । महासचिव घनश्याम भुसालले एमालेको सौराहा महाधिवेशनलाई ‘सौराहा काण्ड’ भनेजस्तो अहिले उनकै जिल्लामा उनको पार्टीका जिल्ला कमिटी तहका नेताले एकीकृत समाजवादी १० औँ महाधिवेशनलाई ‘प्रज्ञा भवन काण्ड’ भन्न थालेका छन् ।

रुपन्देहीका कार्यकर्ता भन्छन्, ‘हिजो एमालेमा केपी ओलीबाट पीडित भएर यता आइयो, यता त्योभन्दा बढी अत्याचार भयो ।’ जिल्ला अध्यक्ष श्रीराम यादवको अध्यक्षतामा बसेको बैठकले माओवादीसँग मिल्ने कुरालाई सीधै इन्कार गरेको छ ।

‘हिजो माओवादीकै कारण त्यत्रा साथीले दुःख पाए, कतिपय साथीहरू माओवादीबाट मारिए । आज उनीहरूसँगै एकता गर्न जाने कुरा हुनै सक्दैन’, बैठकमा सहभागी एक नेताले दृष्टिलाई बताए ।

माधव नेपाल र झलनाथका बुढेसकालको लोभमा परेर माओवादीसँग एकतामा जाँदा केही प्नि हुँदैन भन्ने कुरा बुझेका पार्टीका एकथरि नेताहरू अहिले विभिन्न विकल्पमा छलफल गरिरहेका छन् । दुई नेताको हठमा पार्टीलाई सिध्याउने काम हुँदैछ भनी ती नेता कसरी अगाडि बढ्ने भन्नेबारे छलफल गरिरहेका छन् ।
यसको नेतृत्व महासचिव घनश्याम भुसालले गरिरहेका छन् । त्यसअन्तर्गत प्रकाश ज्वाला, विजय पौडेलहरूको सक्रियता छ । बेदुराम भुसाल, प्रमेश हमाल, गंगालाल तुलाधरहरू ‘जसो जसो माधव, उसो उसो स्वाहा’ भनेजस्तो माधव–झलनाथलाई साथ दिइरहेका छन् ।

प्रचण्डलाई भने छिटोभन्दा छिटो समाजवादीलाई एकतामा ल्याएर उक्त पार्टीको अस्तित्व समाप्त पार्ने हतारो छ । यसका लागि उनले माधव–झलनाथले भनेका कुनै पनि कुरामा नाइनास्ती गरेका छैनन् ।

उदाहरणका लागि माधवले आफ्नो प्रधानमन्त्री पद सुरक्षित पार्न संसदीय दलको नेताको माग गरे । प्रचण्डले ‘हुन्छ’ भने । झलनाथलाई राष्ट्रपति बनाउनुपर्छ भन्ने माग पनि माधवकै हो, त्यो पनि प्रचण्डले ‘हुन्छ’ भने ।

भोलि ती सबै कुरालाई सम्भव तुल्याउने निर्णायक व्यक्ति पार्टी अध्यक्ष हुने हो । त्यसैले पार्टीमा दोस्रो हैसियतको भए पनि अध्यक्ष हुनुपर्ने माधव नेपालको माग थियो । प्रचण्डले त्यो पनि ‘हुन्छ’ भनेका छन् ।

अर्थात्, जे माग्दा वा भन्दा पनि ‘हुन्छ का हुन्छ’ लगाएर भए पनि प्रचण्ड एकीकृत समाजवादीलाई एकतामा ल्याएर माधव, झलनाथ पनि सिध्याउन खोज्दै छन् । तर, त्यस्तो एकतामा पार्टीका १० प्रतिशत नेता र कार्यकर्ता पनि जाने अवस्था देखिँदैन ।

  • दृष्टिन्यूज डटकमबाट
Share.

Comments are closed.

Exit mobile version