काठमाडौं । नेकपा एमालेको पोलिटब्युरो बैठक भदौ १८ र १९ गते बस्ने भएको छ ।

बिहीबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकले भदौ १८ र १९ गते पोलिटब्युरो बैठक बोलाउने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले बैठकले सदस्यता बिस्तार अभिलेखीकरण र नविकरणको कामलाई प्रभावकारी बनाउनेबारे छलफल गरेको बताउनुभयो । ११ जिल्लामा बाँकी अधिवेशनको आयोजना गर्ने र तिनीहरुलाई अझ व्यवस्थित गर्नेबारेमा पनि छलफल भएको छ ।

पार्टी प्रवेश र जिम्मेवारी बिहीन अवस्थामा रहेकालाई तीन महिनाभित्र कमिटीगत जिम्मेवारी दिने निर्णय भएको छ । हरेक कमिटीले आफ्नो कार्यकर्ताको मूल्यांकनको व्यवस्थित ढाँचा निर्माण गर्ने कामको शुरुवात गर्ने, कमिटीहरु विधिसम्मत ढंगले सञ्चलन गर्ने, केन्द्रमा एउटा स्थायी पार्टी स्कुल र प्रदेशहरुमा सात वटा स्थायी पार्टी स्कुलहरु सञ्चालन गरी वर्षको एक पटक हरेक पार्टी सदस्यले अनिवार्य दिक्षित हुने ढंगले पार्टी स्कुलको ढाँचा तय गरिएको उपमहासचिव ज्ञवालीले बताउनुभयो । बैठकले जनप्रतिनिधिलाई प्रभावकारी ढंगले परिचालन गर्ने निर्णय गरेको छ । त्यस्तै कम्युनिष्ट पार्टीहरुको एउटा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्नेबारे पनि छलफल भएको छ ।

उहाँले पार्टीले पार्टीका उपाध्यक्ष एवं संविधान सभा अध्यक्ष दिवंगत सुवासचन्द्र नेम्वाङको प्रथम स्मृति दिवस भदौ २६ गते आयोजना गर्ने निर्णय गरेको पनि बताउनुभयो ।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version