काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले राजनीतिक स्थायित्वका निम्ति नेपाली काँग्रेस र नेकपा एमालेको गठबन्धन सरकार बनेको बताउनुभएको छ ।
आइतवार बिहान जनकपुरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता कोइरालाले पटक पटक सरकार बदलिँदा विकासका काममा बाधा परेकाले अहिलेको सरकार विकासलाई गति दिनका लगि बनेको बताउनुभएको हो ।
नेता कोइरालाले सुशासन स्थापित गर्न, भ्रष्टाचार नियन्त्रण गर्नका लागि अहिलेको सरकार बनेको बताउनु भयो । नेता कोइरालाले संविधानमा केही सुधारहरु गर्नका लागि पनि अहिलेको सरकार बनेको र एक हप्ता यता काँग्रेस र एमालेबीच सक्रियतापूर्वक काम भइरहेको बताउनुभयो । उहाँले संविधान संशोधन गर्दा सबै राजनीतिक दलहरुसँग समन्वय गरेर संशोधन गरिने बताउनुभयो ।
नेता कोइरालाले भन्नुभयो, ‘यो हप्तादेखि नेपाली काँग्रेस र एमाले अलिअलि चलायमान भएको मैले पाएँ । त्यो राम्रो कुरा हो । अब संविधान जस्तो कुरा अन्य दलहरुसँग पनि मिलेर हामीले संविधानमा केही सुधारहरु गर्नुपर्ने हुन्छ । माओवादी, मधेशका दलहरु, रास्वपा अन्य दलहरुसँग मिलेर संविधान सुधारका कुरा गर्नुपर्छ । नेपाली काँग्रेस र एमाले मात्रै मिलेर सोच्यौँ भने त्यो फेरि गलत बाटोतिर हामी जान थाल्छौँ ।’
नेता कोइरालाले यो सरकारलाई असफल हुने छुट नरहेको बताउनुभयो । अहिलेको सरकार असफल भए देश अराजकतातिर जाने बताउनुभयो । देश अराजकतातिर जान नदिन सबै गम्भीर रहेको बताउनुभयो ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।