काठमाडौँ- शेर्पा समुदायले आज देशभर ग्याल्पो ल्होसार मनाउँदैछन्। ग्याल्पो ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ।
प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्वको रुपमा यस पर्वलाई लिने गरिन्छ।
नयाँ वर्षका रूपमा शेर्पा समुदायले मनाइने यस पर्वमा मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा विभाजन गरिएको हुन्छ। बराह वर्ष पूरा भई आजदेखि मुसा वर्ष सुरु हुँदैछ।
ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी भव्य रूपमा मनाइन्छ। ग्याल्पो ल्होसार भोटका नवौं राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन सुरु गरिएको हो।
विगतमा हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ग्याल्पो ल्होसार हाल देशका विभिन्न जिल्लामा मनाइन्छ। शेर्पा जातिको बसाइ सराइसँगै यो पर्व मनाउने जिल्ला बढेको हो।
पुस १५ मा गुरुङ समुदायले तमु र माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले पनि सोनाम ल्होसारका नाममा यो पर्व मनाइसकेका छन्।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
