धादिङ/ देशको मुख्य ‘लाइफलाइन’ मानिने पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा त्रिशूली नदीको बाढीले कटान गरी सडक भासिएपछि विगत ६ दिनदेखि सडक सञ्जाल पूर्ण रूपमा ठप्प बनेको छ। भदौ १४ गतेदेखि अवरुद्ध रहेको उक्त सडक खण्डलाई पुनः सञ्चालनमा ल्याउन निर्माण टोलीले तीव्र गतिमा काम गरिरहे पनि दुईतर्फी गाडी चलाउन अझै ९ देखि १० दिन लाग्ने देखिएको छ।
नागढुंगा-मुग्लिन सडक योजना (पश्चिम खण्ड) का अनुसार हाल कृष्णभीरमा सडक डिभिजनका ४० जना श्रमिक र ९ वटा साना-ठूला मेसिन (डोजर/एक्स्काभेटर) निरन्तर परिचालन गरिएको छ। हालसम्म भित्ता काटेर १२ मिटर स्लोप निकाल्ने, ट्रयाक सिलिङ गर्ने, लेभल मिलाउने र काटेको भित्तालाई अड्याउन सिट पाइनिङ गर्ने काम सम्पन्न भएको छ।
नागढुंगा-मुग्लिन सडक आयोजनाका आवासीय कन्सल्टेन्ट फिल्ड इन्जिनियर अशोक देवकोटाका अनुसार १३० मिटर भास्सिएको सडकको विकल्पमा नयाँ ट्र्याक खोलेर लम्बाइ ३०० मिटर पुर्याइँदै छ।
इन्जिनियर देवकोटाले भने, “उज्यालो भएदेखि साँझसम्म निरन्तर काम भइरहेको छ। तर, अझै ८ मिटर तलसम्म भित्ता काट्नुपर्ने र पुरानो सडकभन्दा ३ मिटर माथि हुने गरी भास्सिएको भागभन्दा १७० मिटर लामो नयाँ सडक निर्माण गर्नुपर्नेछ। माथिबाट थप पहिरो नखसेको अवस्थामा दुईतर्फी सडक सञ्चालनमा ल्याउन अझै कम्तीमा ९ देखि १० दिन लाग्छ।”
कृष्णभीरमा करिब ४० मिटर उचाइको पहाड काटेर सडकको सतह तल झार्नुपर्ने र धाँजा फाटेका ठाउँ सिल गर्दै नयाँ सडक बनाउनुपर्ने भएकाले मर्मतको काम जटिल बनेको हो।
राजमार्ग अवरुद्ध हुँदा काठमाडौँ भित्रिने र बाहिरिने हजारौँ सवारीसाधन तथा यात्रुहरू बिचबाटोमै अलपत्र परेका छन्। यसले गर्दा उपत्यकामा खाद्यान्न र खाना पकाउने ग्यासलगायत अत्यावश्यक वस्तुको आपूर्तिसमेत प्रभावित बनेको छ।
यसैबिच, पृथ्वी राजमार्गकै बेनिघाट रोराङको शीतल बजार, गजुरी गाउँपालिकाको परेवाभीर, छहरा, बिहानी पम्प र बाङ्गे क्षेत्रमा पनि सडक भासिने र पहिरो जाने जोखिम कायमै रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।






