काठमाडौँ । २०२३ मा भारतको मणिपुरमा जातीय हिंसा भड्किएपछि प्रधानमन्त्री नरेन्द्र मोदी पहिलो पटक राज्यको भ्रमणमा पुगेका छन् ।
यस क्रममा प्रधानमन्त्री मोदीले चुराचन्दपुरमा ७ हजार करोडभन्दा बढी लागतका धेरै विकास परियोजनाहरूको शिलान्यास गरेका छन् । चुराचन्दपुर त्यही जिल्ला हो, जुन हिंसाबाट सबैभन्दा बढी प्रभावित भएको थियो, जहाँ २५० भन्दा बढी मानिसहरूले ज्यान गुमाए र हजारौं विस्थापित भएका थिए । प्रधानमन्त्री मोदीले मणिपुरलाई रत्न भन्दै यसले भारतको सम्पूर्ण उत्तर पूर्वलाई चम्काउने बताए ।
उनले भने- ‘यी परियोजनाहरूले मणिपुरका मानिसहरू, पहाडमा बस्नेहरूलाई फाइदा पुर्याउनेछन्, सबैका लागि नयाँ सुविधाहरू सिर्जना गरिनेछ । राम्रा सडकको अभावमा मानिसहरूले समस्या भोगिरहेका छन्। तर २०१४ देखि, म यसमा काम गर्ने प्रयास गरिरहेको छु । यसका लागि दुई तहमा काम गरिएको थियो। पहिलो, मणिपुरको लागि सडक र रेल मार्गहरूको बजेट बढाइएको थियो र दोस्रो, गाउँहरू जोड्ने प्रयास गरिएको थियो ।’
मोदीले भारत चाँडै नै विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्न गइरहेको र आफ्नो प्रयास यसको फाइदा देशको हरेक कुनामा पुग्ने कुरा सुनिश्चित गर्नु रहेको बताएका थिए ।
उनले हिंसाको बारेमा कुरा गर्दै भने- ‘मणिपुर क्षेत्र आशा र अपेक्षाको भूमि हो, तर दुर्भाग्यवश हिंसाले यसलाई घेरेको थियो । केही समय अघि, मैले शिविरमा बसिरहेका प्रभावित मानिसहरूलाई भेटें र म भन्न सक्छु कि मणिपुरमा आशा र विश्वासको नयाँ बिहानी ढोका ढकढक्याइरहेको छ । विकासको लागि शान्ति स्थापना धेरै महत्त्वपूर्ण छ ।’ साथै मोदीले मणिपुरलाई शान्ति, समृद्धि र विकासको प्रतीक बनाउने उद्देश्यका साथ अघि बढिरहेको बताए ।
मे २०२३ मा जातीय हिंसा भड्किएपछि यो प्रधानमन्त्री मोदीको पहिलो मणिपुर भ्रमण हो । विपक्षीहरूले प्रधानमन्त्रीले यति लामो समयदेखि मणिपुरको भ्रमण किन गर्नुभएन भनेर निरन्तर प्रश्न उठाउँदै आएका छन् ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।




