धादिङ, – फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी क्रममा धादिङका पाँच प्रमुख राजनीतिक दलले ऐतिहासिक सहमति जनाएका छन्। नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला नेता तथा दुवै निर्वाचन क्षेत्रका उम्मेदवारहरू मंगलबार धादिङबेसीमा भेला भए र आगामी निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र मर्यादित हुने सुनिश्चित गर्दै साझा प्रतिबद्धता जनाए।
बैठकमा सहभागी सबैले मतदान प्रक्रियालाई स्वतन्त्र, निष्पक्ष र भरोसायोग्य बनाउन सहयोग गर्ने प्रतिज्ञा गरे। निर्वाचन प्रचारप्रसार शान्तिपूर्ण, सौहार्दपूर्ण, मैत्रीपूर्ण र मितव्ययी हुने प्रतिबद्धता व्यक्त गरियो। साथै, निर्वाचनका क्रममा उत्पन्न हुन सक्ने विवाद, मतभेद वा असमझदारीलाई आपसी संवाद, समन्वय र सहकार्य मार्फत समाधान गर्ने सहमति पनि भएको छ।
प्रतिबद्धता पत्रमा उल्लिखित छ कि निर्वाचनपछि निर्वाचित पार्टी वा उम्मेदवार जे भए पनि जिल्लाको समग्र हित र विकासका लागि सबै दल मिलेर काम गर्नेछन्। यसका साथै, सरकार, निर्वाचन आयोग, राजनीतिक दल, उम्मेदवार, कार्यकर्ता, मतदाता, आम नागरिक र सञ्चारकर्मीहरूलाई निर्वाचन सफल, निष्पक्ष र शान्तिपूर्ण बनाउन सक्रिय भूमिका खेल्न आग्रह गरिएको छ।
बैठकमा नेपाली कांग्रेसका धादिङ सभापति रामनाथ अधिकारी, नेकपा (एमाले)का कार्यवाहक अध्यक्ष अर्जुनकुमार श्रेष्ठ ‘गोर्खाली’, नेपाली कम्युनिस्ट पार्टीका संयोजक मनराज भण्डारी, राष्ट्रिय स्वतन्त्र पार्टीका संगठन सचिव रामहरि रिजाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष ध्रुवप्रसाद खनालसहित दुवै निर्वाचन क्षेत्रका उम्मेदवारहरूले पनि सहभागिता जनाएका थिए। दुवै निर्वाचन क्षेत्रका उम्मेदवार र पार्टी प्रमुखहरूले संयुक्त प्रतिबद्धता पत्रमा हस्ताक्षर गरी शान्तिपूर्ण निर्वाचनको सुनिश्चितता गरेका छन्।
यस पहलले धादिङमा राजनीतिक सहमति, आपसी सम्मान र लोकतान्त्रिक मूल्यहरूको मजबुत अभ्यासको वातावरण सिर्जना गर्नेछ। मतदातामा भरोसा बढाउने र सुशासनको अभ्यासलाई मजबुत बनाउने विश्वास पनि व्यक्त गरिएको छ।





