काठमाडौँ, २९ चैत — हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभावले गर्दा देशका पहाडी तथा हिमाली क्षेत्रको मौसममा फेरबदल आएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले पहाडी र हिमाली भेगमा आंशिक बदली देखिए पनि तराई क्षेत्रमा भने मौसम सामान्यतया सफा रहेको छ।
आज दिउँसो कोशी प्रदेशका पहाडी र हिमाली भागका साथै बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ। तराईका जिल्लाहरूमा भने आज मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।
रातिको समयमा पनि कोशी र गण्डकी प्रदेशका हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना कायमै रहने महाशाखाले जनाएको छ। वर्षा र हिमपातको सम्भावना रहेका क्षेत्रमा यात्रा गर्ने सर्वसाधारण र यातायात चालकहरूलाई सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।





