धादिङ, बैशाख १० । धादिङ जिल्ला स्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि नीलकण्ठ नगरपालिकाले हात पारेको छ। धादिङबेसीमा तीन दिनसम्म सञ्चालन भएको उक्त प्रतियोगितामा नीलकण्ठ नगरपालिकाले कुल ५४ स्वर्ण पदक मध्ये २० स्वर्ण पदक जित्दै रनिङ शिल्डमा आफ्नो कब्जा जमाएको हो। जिल्ला खेलकुद विकास समिति धादिङको आयोजनामा सम्पन्न भएको यस प्रतियोगितामा नीलकण्ठले २० स्वर्ण, ९ रजत र ९ कास्य सहित कुल ३८ पदक जितेर प्रथम स्थान हासिल गर्न सफल भयो। त्यस्तै प्रतियोगितामा ९ स्वर्ण, २ रजत र १ कास्य पदक जित्दै रुवीभ्याली गाउँपालिका द्वितीय भएको छ भने ८ स्वर्ण, ९ रजत र ७ कास्य पदकका साथ गजुरी गाउँपालिकाले तृतीय स्थान हासिल गरेको छ।
जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख रमेशमान तुलाधरका अनुसार प्रतियोगितामा ज्वालामूखी गाउँपालिकाले ५ स्वर्ण, ५ रजत र ९ कास्य पदक जितेको छ भने थाक्रे गाउँपालिकाले ४ स्वर्ण, ५ रजत र ७ कास्य पदक प्राप्त गरेको छ। यसैगरी त्रिपुरासुन्दरी गाउँपालिकाले ३ स्वर्ण, ७ रजत र ५ कास्य, गल्छी गाउँपालिकाले १ स्वर्ण, ६ रजत र १२ कास्य, सिद्धलेक गाउँपालिकाले १ स्वर्ण, ७ रजत र ३ कास्य, धुनीबेसी नगरपालिकाले १ स्वर्ण, २ रजत र ९ कास्य, नेत्रावती डबजोङ गाउँपालिकाले १ स्वर्ण, १ रजत र १ कास्य, गंगाजमुना गाउँपालिकाले १ स्वर्ण र २ कास्य तथा बेनीघाट रोराङ गाउँपालिकाले १ कास्य पदक प्राप्त गरेका छन्। यस पटकको प्रतियोगितामा खनियाबास गाउँपालिकाले भने कुनै पनि पदक जित्न सकेन।
नीलकण्ठ नगरपालिकाका प्रमुख भीम ढुंगानाको प्रमुख आतिथ्यमा सम्पन्न पुरस्कार वितरण तथा समापन समारोहमा बोल्दै प्रमुख अतिथि ढुंगानाले खेल क्षेत्रको विकासका लागि स्थानीय सरकार निरन्तर लागिरहेको बताउनुभयो। उहाँले अन्तर्राष्ट्रिय स्तरको खेलकुद प्रतियोगिताहरूमा नगरपालिकाका खेलाडीहरू सहभागी हुन सक्ने गरी क्षमता विकासमा सहयोग गर्दै आएको उल्लेख गर्दै नीलकण्ठ नगरपालिकाले खेलकुदको क्षेत्रमा उल्लेख्य लगानी र योगदान गरेको दाबी गर्नुभयो। कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रताप तामाङले खेलकुदको विकासमा स्थानीय सरकारहरूले पुर्याएको नियमित सहयोगको प्रशंसा गर्दै यसले समग्र खेल क्षेत्रको श्रीवृद्धिमा ठूलो सघाउ पुगेको बताउनुभयो। प्रतियोगितामा विजयी खेलाडी तथा टिमलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।





