काठमाडौं । खुल्लमखुल्ला वैदेशीक हस्तक्षेप बढेको र नेपालको राष्ट्रिय स्वधिनता खतरामा परेकोले सबै कम्युनिस्टहरु एक भएर प्रतिरोध गर्नुपर्नेमा वक्ताहरुले जोड दिएका छन् । बिहिवार राजधानीको संवाद डबलीमा ‘राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपाल’द्वारा आयोजित कार्यक्रममा उनिहरुले बालेन सरकारले सीमा नाघेकोले त्यसको विकल्प खोज्नुपर्नेसमेत जोड दिए ।
७ घटकहरुको संयुक्त मोर्चाका संयोजक सन्तबहादुर नेपालीले विगतमा सत्तामा रहँदा कम्युनस्टहरुकै कमजोरीको कारण लामो समयपछि देश ‘घोर दक्षिणपन्थी’हरुको हातमा गएको आरोप लगाए । उनले देशमा बढ्दो वैदेशीक हस्तक्षेप र सरकारको जनविरोधी कदमकाविरुद्धमा सबै कम्युनिस्टहरु एक हुनुपर्नेमा जोड दिए ।
पुष्पलालको ४८ औं स्मृति दिवसको सन्दर्भमा नेकपाका संयोजक लोकनारायण सुवेदीले ‘वैदेशीक हस्तक्षेप र राष्ट्रिय आत्मसमर्पणवादको विरुद्ध प्रतिरोध आन्दोलनको सवाल र कमरेड पुष्पलाल’ विषयक कार्यपत्र पेस गरेका थिए ।
सुवेदीले राष्ट्रिय स्वाधीनतालाई जोगाउन सम्पूर्ण सच्चा कम्युनिस्ट क्रान्तिकारीहरु एकजुट र आन्दोलित हुनुपर्नेमा जोड दिए । सुवेदीले नेपाली कम्युनिस्ट आन्दोलनका आदर्श तथा संस्थापक वैचारिक नेता पुष्पलालको नीतिको आवश्यकता र महत्व झन बढेर गएको दाबी गरे ।
‘लाखौं–लाख झुपडीको एकता नेपालको राष्ट्रियता हो भने, तिनै झुपडीको हकहित नै जनताको जनवाद हो’ भन्ने पुष्पलालको वैचारिकता नै कम्युनिस्ट आन्दोलनको विषयलाई जनताकोबीचमा पुर्याउनुपर्छ र बुद्धको शान्ति र पञ्चशीलको सिद्धान्तलाई जोडेर लैजानु पर्छ” सुवेदीले भने ।
पुष्पलालको ४८ औं स्मृति दिवसको वसरमा विशिष्ट अतिथिकोरुपमा रहेका परराष्ट्रविद हिरण्यलाल श्रेष्ठले राष्ट्रिय स्वाधीनता, जनताको स्वतन्त्रता र जनजीवीकाका साथै नेपालको परराष्ट्र नीति निर्माणमा पुष्पलालको विशिष्ठ योगदान रहेको चर्चा गरे । पत्रकारको एक प्रश्नको उत्तरमा श्रेष्ठले कालापानी, लिपुलेक र लिम्पियाधुरासमेत समेटेर संसदले एकैमतले पारित गरेको नेपालको राजनीतिक मानचित्र कसैले पनि हटाउन नसक्ने बताउँदै भने,“बालेनको केटाकेटी लहडले हटाउन कोशिस गरे गम्भीर रष्ट्रघात ठहर्छ ।”
कार्यपत्रमाथि टिप्पँणी गदै वरिष्ठ अर्थ विज्ञ डा.डिल्लीराज खनालले वर्तमान सरकारले कर आतंक मच्चाएर जनतालाई त्राहीत्राही पारेको जिकिर गरे । “आहिलेसम्मका आन्दोलनहरुले नेपालको उत्पादन सम्बन्धमा आमुल परिवर्तन ल्याउन नसकेकोले नेपालको परनिर्भता बढ्दै गयो, जसका कारण देशको अर्थतन्त्र साम्राज्यवादको अधिनस्थ हुँदै गएको छ” डा.खनालले भने ।
वरिष्ठ अधिवक्ता डा.दण्डपाणी पौडेलले सुवेदीद्वारा प्रस्तुत कार्यपत्र वर्तमान समयानुसार निकै सान्दर्भिक भएको उल्लेख गर्दै, त्यसलाई थप समृद्ध गरी निर्णायक शान्तिका लागि प्रयुक्त गर्नुपर्नेमा जोड दिए ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य रामसिंह श्रीशले शान्तिलाई वर्ग सापेक्षमा बुझ्नु पर्ने बताउँदै, भने,“साम्राज्यवादले युद्ध मात्रै थोपर्ने हो, शान्ति स्थापना गर्न सक्दैन, त्यो कार्य केबल कम्युनिस्टहरुबाट मात्रै सम्भव छ ।”
पुष्पलाल अध्ययन समाजका अध्यक्ष लोककृष्ण भट्टराईले समग्रमा कार्यपत्र सही रहेको बताउँदै, साम्रज्यवादका विरुद्ध सम्पूर्ण कम्युनिस्ट घटकहरु एकजुट हुनुपर्नेमा जोड दिए ।
मोर्चाका घटक तथा नेकपा(मार्कसवादी पुष्पलाल) का अध्यक्ष मानध्वज गुरुङले नेपालको आधारभूत वर्ग ‘किसानका समस्या हाल नभई राष्ट्रका समस्य हल हुँदैन’ भन्ने पुष्पलालको कथनलाई विशेषरुपमा स्मरण गरेका थिए ।
राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपाल घटक नेकपाका सचिवालय सदस्य नारायण शर्माले पुष्पलालका बिचार, नीति र सिद्धान्तलाई सही ढंगले बझेर कार्यान्वयन गर्न सके मात्रै नेपालको परिवर्तनलाई सार्थकता दिन सकिने बताए ।






