काठमाडौं । नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डा. विशालकुमार भण्डारी र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीसहितको उच्चस्तरीय टोलीले नुवाकोटका बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेको छ।
अनुगमन टोलीमा रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आईएफआरसी) का नेपाल प्रमुख डेभिड फिसर तथा नेपाल रेडक्रस सोसाइटी नुवाकोट जिल्ला शाखाका स्वयंसेवकहरूको समेत सहभागिता रहेको थियो।
संयुक्त टोलीले विदुर नगरपालिका–५ अन्तर्गत बाढीबाट प्रभावित कोदोबारी क्षेत्र तथा ठुलोगाउँमा रहेको होल्डिङ सेन्टरको स्थलगत निरीक्षण गरेको हो।
अनुगमनका क्रममा टोलीले बाढी प्रभावित क्षेत्रको पछिल्लो अवस्था, प्रभावित नागरिकका आवश्यकता तथा होल्डिङ सेन्टरको व्यवस्थापनबारे जानकारी लिएको थियो। साथै, प्रभावित समुदायलाई आवश्यक सहयोग उपलब्ध गराउने र आगामी दिनमा गर्नुपर्ने कामका विषयमा सरोकारवालाहरूसँग छलफल गरिएको थियो।
बाढी प्रभावित क्षेत्रको अवस्थाबारे प्रत्यक्ष जानकारी लिने तथा प्रभावित नागरिकका आवश्यकता पहिचान गर्ने उद्देश्यले गरिएको अनुगमनले आगामी राहत, सहयोग र व्यवस्थापनका कार्यलाई प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।






