काठमाडौँ । बंगालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अर्नब’ अति शक्तिशाली बन्ने पूर्वानुमानसँगै नेपालका १३ जिल्लाका हिमाली क्षेत्रमा ‘रेड अलर्ट’ जारी गरिएको छ। मौसम पूर्वानुमान महाशाखाले भारी वर्षा, हिमपात, हिमआँधी तथा हिमपहिरोको जोखिम रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाका अनुसार चक्रवात उत्तरपश्चिम दिशातर्फ अघि बढ्दै अक्टोबर २८ मा भारतको आन्ध्र प्रदेश र विशाखापट्टनमबीचको यानम नजिकको तटीय क्षेत्रबाट जमिनमा प्रवेश गर्ने सम्भावना छ। यसको प्रभाव नेपालमा समेत पर्ने अनुमान गरिएको छ।
कात्तिक १२ गते बिहीबारदेखि मौसम प्रभावित हुन सक्ने र शुक्रबार तथा शनिबार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षा हुन सक्नेछ। कर्णाली र सुदूरपश्चिमका केही स्थानमा पनि वर्षाको सम्भावना छ।
महाशाखाले हुम्ला, मुगु, डोल्पा, मुस्ताङ, मनाङ, गोरखा र धादिङका हिमाली भूभागसहित रसुवा, सिन्धुपाल्चोक, दोलखा, सोलुखुम्बु, सङ्खुवासभा र ताप्लेजुङमा ‘रेड अलर्ट’ जारी गरेको छ।
उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेकाले पर्यटकलाई उच्च हिमाली क्षेत्रमा यात्रा नगर्न तथा यात्रामा रहेकालाई सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ।
वर्षाका कारण पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने र जनजीवनमा असर पर्न सक्ने भएकाले आवश्यक पूर्वतयारी गर्न महाशाखाले अनुरोध गरेको छ। धानबाली भित्र्याउने समय भएकाले किसानलाई सम्भव भएसम्म बिहीबारअघि नै कृषि कार्य सम्पन्न गरी बाली सुरक्षित राख्नसमेत सुझाव दिइएको छ।
धादिङसहित जोखिममा रहेका जिल्लाका बासिन्दालाई मौसमसम्बन्धी आधिकारिक सूचना पछ्याउन र सम्भावित विपद्बाट जोगिन सतर्क रहन आग्रह गरिएको छ।






