काठमाडौं । फ्रि भिषा फ्रि टिकटमा घरेलु काममा लगाइदिने प्रलोभनमा पारी कुवेत पुर्याई मानव बेचबिखन गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा नुवाकोट तादी गाउँपालिका-५ घर भएकी ३२ वर्षीय कुसुम कँडेल र सिन्धुपाल्चोक चौतारा नगरपालिका-६ घर भएका ५० वर्षीय सकुलाल भन्ने माईला लामा तामाङ रहेका छन् ।
मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले माईलालाई बिहीबार र कुसुमलाई शुक्रबार काठमाडौं महानगरपालिका-९ बाट पक्राउ गरेको हो ।
उनीहरूले पीडितलाई मासिक १ सय २० कुवेती दिनार तलबमा काममा लगाइदिने भनि प्रलोभन देखाई ९ सय कुवेती दिनार लिई २०८० साउन ४ गते नेपालबाट दुबई हुँदै कुवेतको अलजारा पुर्याई बेचबिखन गरेको अनुसन्धानबाट खुल्न आएको छ ।
उनीहरू उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।