काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शक्तिशाली आयोग नै बनाएर सबै नेताहरूको सम्पत्ति छानबिन गर्न शीर्ष नेताहरूलाई सुझाव दिनुभएको छ ।
राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा बोल्दै महामन्त्री थापाले आफू सरकारमा हुँदा फाइल नखोल्ने तर सरकारबाट बाहिरिएपछि ‘फलानो नेता भ्रष्टाचारी हो’ भन्दै हिँड्ने प्रवृत्ति बढेको भन्दै आयोग बनाएर सबै काण्डको छानबिन गर्न सुझाव दिनुभएको हो । यसका लागि सबै दलका शीर्ष नेताहरूबीच छलफल हुनुपर्ने र कुन कुन फाइल खोल्ने भन्ने निधो हुन आवश्यक रहेको उहाँको भनाइ छ ।
यसरी छानबिन नगरेसम्म आममानिसमा सबै नेताहरू भ्रष्टाचारी हुन् भन्ने भ्रम र बुझाइ रहिरहने भएकाले यसको समाधान गर्नुपर्ने गगन थापाको भनाइ छ । ‘बनाउने भए शक्तिशाली आयोग बनाऔँ । सबैको सम्पत्ति छानबिन गरौँ । यो वा त्यो भ्रष्टाचारको फाइल खोल्नुपर्छ भनेर भाषणबाजी नगरौँ’, उहाँले भन्नुभयो ।
अहिले कसैलाई खुइल्याउनुपर्यो भने ‘फलानो नेता त भ्रष्टाचारी हो’ भनिदिए पुग्ने अवस्था रहेको भन्दै गगन थापाले विधेयक बनाएर शक्तिशाली आयोग बनाउनुपर्ने बताउनुभयो ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।