धादिङ – मुलुकमा विद्यमान संकटको समाधानका लागि संविधान र लोकतान्त्रिक प्रकृयाबाट निकास खोज्न धादिङ जिल्लाका चार राजनैतिक दलले आग्रह गरेका छन् ।
धादिङका चार प्रमुख राजनीतिक दलहरूले भ्रष्टाचारविरुद्ध, दण्डहीनता अन्त्य र सुशासनको माग गर्दै भदौ २३ गते भएको जेन–जि युवाद्वारा आयोजित प्रदर्शनका क्रममा भएको मानविय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले घाइतेप्रति सहानुभूति प्रकट गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। उनीहरूले दोषीको छानबिन गरी कानुनी कारबाही गर्न माग गरेका छन्।
विज्ञप्तिमा भदौ २४ गते विभिन्न स्थानमा भएको आगजनी, तोडफोड, हिंसा र लुटपाटप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता घटनाले देशलाई संकटतर्फ धकेलेको उल्लेख गरिएको छ। सरकारी कार्यालय, बैंक, पसल, यातायात, सञ्चार र स्वास्थ्यजस्ता महत्त्वपूर्ण सेवा अवरुद्ध भई जनजीवन प्रभावित भएको र शान्ति–सुरक्षामा प्रत्यक्ष असर परेको दलहरूको भनाइ छ।
दलहरूले आन्दोलनका क्रममा सुरक्षाकर्मीको कमजोरीप्रति पनि गम्भीर समीक्षा गर्दै आगामी दिनमा यस्ता त्रुटि दोहोरिन नदिन प्रतिबद्धता जनाएका छन्। साथै, संवैधानिक उपलब्धि, लोकतान्त्रिक व्यवस्था र गणतन्त्रलाई धराशायी पार्ने प्रयासलाई सशक्त रूपमा प्रतिकार गर्ने चेतावनीसमेत दिएका छन्।
संयुक्त विज्ञप्ति नेकपा (एमाले)का अध्यक्ष भुमि त्रिपाठी, नेपाली कांग्रेसका कार्यबाहक सभापति गेहेन्द्र मल्ल, नेकपा (माओवादी केन्द्र) का संयोजक मनराज भण्डारी र नेकपा (एकीकृत समाजवादी) का संयोजक नारायण कार्कीले हस्ताक्षर गरेका छन्। विज्ञप्तिमा भनिएको छ, “जेनजी उठाउने एजेन्टहरूले परिस्थिति अस्थिर बनाउन खोजिरहेको अवस्थामा सम्पूर्ण युवाहरूको सुरक्षा र सहकार्य अपरिहार्य छ।”
–





