चितवन, ४ असोज । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलानजिक खसेको पहिरो पन्छाउने काम रोकिएको छ । लगातार पहिरो खसिरहेको कारण साढे ६ बजेदेखि पहिरो पन्छाउने कार्य रोकिएको चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पुरीले जानकारी दिए ।
उनका अनुसार राति बत्तीको सहारामा पहिरो हटाउने तयारी गरिए पनि साढे ६ बजे ठूलो पहिरो खसेपछि काम जोखिमपूर्ण भएकाले तत्कालका लागि रोकिएको हो । “भोलि बिहानैदेखि पुनः काम सुरु गर्ने तयारी छ,” एसपी पुरीले भने ।
आज रातभर पहिरो नखसेको खण्डमा भोलि दिउँसोदेखि यातायात सञ्चालनमा ल्याउने अनुमान गरिएको छ । तर निरन्तर पहिरो खसेको कारण सडक कहिले सुचारु हुन्छ भन्ने यकिन नभएको प्रहरीले जनाएको छ ।
सडक अवरुद्ध हुँदा करिब एक हजारभन्दा बढी सवारीसाधन बीच बाटोमै अलपत्र परेका छन् । हिजो दिउँसो ४ बजेदेखि नै रोकिएका यात्रुलाई खानेकुरा र पानीको समस्या भएपछि जिल्ला प्रशासन कार्यालय चितवनको समन्वयमा आज खाद्यान्न र पानी वितरण गरिएको हो ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
