काठमाडौँ । ‘सिमसार र परम्परागत ज्ञान: सांस्कृतिक सम्पदाको उत्सव’ भन्ने मूल नाराका साथ आज नेपालसहित विश्वभर सिमसार दिवस मनाइँदै छ। तीव्र रूपमा भइरहेको सिमसार क्षेत्रको ह्रासलाई न्यूनीकरण गर्न जनचेतना अभिवृद्धि गर्ने तथा यस्ता क्षेत्रको संरक्षण र पुनःस्थापनालाई प्रवर्द्धन गर्ने उद्देश्यले यो दिवस मनाउन लागिएको हो।
विश्वभर फेब्रुअरी २ मा यो दिवस मनाउने परम्पराको सुरुवात सन् १९७१ मा इरानको रामसार सहरमा भएको अन्तर्राष्ट्रिय महासन्धिबाट भएको हो। संयुक्त राष्ट्रसङ्घले भने सन् २०२१ अगष्ट ३० मा यस दिनलाई औपचारिक रूपमा विश्व सिमसार दिवसको मान्यता दिएको थियो। हालसम्म विश्वका १७२ राष्ट्रहरू यस महासन्धिमा सहभागी भएका छन्, जसले आफ्ना जलाधार क्षेत्रको दिगो उपयोग र संरक्षणका लागि नीतिगत प्रतिबद्धता जनाएका छन्।
नेपालको सन्दर्भमा सिमसारको ठूलो महत्त्व रहेको छ। नेपाल एक पर्वतीय मुलुक हुनुका साथै यहाँ जल, जमिन, जङ्गल र खनिज पदार्थजस्ता प्राकृतिक स्रोतहरूको प्रचुरता छ। तथ्याङ्कअनुसार नेपालको कुल क्षेत्रफलको करिब पाँच प्रतिशत अर्थात् आठ लाख १९ हजार दुई सय ७७ हेक्टर भू-भाग सिमसार क्षेत्रले ओगटेको छ।
रामसार महासन्धिको नियमअनुसार सदस्य राष्ट्रले कम्तीमा एउटा जलाधार क्षेत्रलाई अन्तर्राष्ट्रिय महत्त्वको सिमसार सूचीमा समावेश गर्नुपर्ने प्रावधान छ। सोहीअनुरूप नेपालका १० वटा महत्वपूर्ण क्षेत्रहरू हाल रामसार सूचीमा सूचीकृत छन्। जसमा कोशी टप्पु वन्यजन्तु आरक्ष, राराताल, माईपोखरी, फोक्सुण्डो ताल, बिसहजारी ताल, घोडाघोडी ताल, गोसाइँकुण्ड, गोक्यो ताल समूह, जगदीशपुर जलाशय र पोखरा उपत्यकाका नौवटा तालहरू रहेका छन्।
राष्ट्रिय सिमसार नीति, २०६९ ले सिमसारलाई पानी जमेको वा बगेको, स्थायी वा अस्थायी, प्राकृतिक वा कृत्रिम रूपमा बनेको दलदल क्षेत्रका रूपमा परिभाषित गरेको छ। यसमा धाप, जरुवा, नुनिलो वा क्षारयुक्त पानी भएको भू-भाग र झरनाहरू समेत समेटिन्छन्। सिमसार क्षेत्र जैविक विविधताको भण्डार मात्र नभई स्थानीय समुदायको जीविकोपार्जन र सांस्कृतिक पहिचानसँग पनि उत्तिकै जोडिएको छ।
