काठमाडौँ: मध्यपूर्वमा जारी सैन्य द्वन्द्वका कारण विश्वव्यापी प्राकृतिक ग्यास आपूर्ति शृङ्खलामा गम्भीर अवरोध आएपछि त्यसको प्रत्यक्ष असर दक्षिण एसियाली मुलुकहरूमा देखिन थालेको छ। विशेष गरी हर्मुज जलमार्ग हुँदै हुने तरल प्राकृतिक ग्यास (एलएनजी) को ढुवानी प्रभावित भएपछि भारतका विभिन्न राज्यमा व्यावसायिक ग्यासको चरम अभाव सुरु भएको छ। भारतका कर्नाटक र तमिलनाडु जस्ता राज्यहरूमा होटल तथा रेस्टुरेन्ट व्यवसाय सञ्चालनै गर्न नसकिने अवस्थामा पुगेका छन्। कर्नाटक होटल ओनर्स एसोसिएसनका अनुसार सरकारले स्वास्थ्य, कृषि र शिक्षा जस्ता क्षेत्रलाई प्राथमिकता दिँदै व्यावसायिक सिलिन्डरको आपूर्तिमा भारी कटौती गरेपछि होटल उद्योग ठूलो संकटमा परेको हो। भारत सरकारले व्यावसायिक ग्यासमा दिँदै आएको सहुलियत हटाएर उल्टै मूल्य वृद्धि गरेपछि साना व्यापारी र खाद्य व्यवसायीहरू थप मारमा परेका छन्।भारतमा देखिएको यो ग्यास संकट र मूल्यवृद्धिको बाछिटा नेपालमा समेत परेको छ। पूर्ण रूपमा आयातमा निर्भर नेपालमा विगत डेढ महिनादेखि ग्यासको अभाव चर्किएको छ। भारतले आफ्नो आन्तरिक माग धान्न ग्यास उत्पादन र वितरणलाई घरेलु प्रयोगमा मात्र केन्द्रित गर्न निर्देशन दिएपछि नेपालतर्फको आपूर्तिमा उल्लेख्य कमी आएको हो। भारतीय आयल कर्पोरेसनबाट आउने ग्यासको परिमाण घटेसँगै नेपाली बजारमा १५ देखि २५ दिनसम्म पनि सिलिन्डर पाउन मुस्किल हुन थालेको छ। अभावको मौका छोपेर कतिपय व्यापारीले ग्यास लुकाउने र बढी मूल्य लिने जोखिम बढेपछि उपभोक्ताहरू त्रसित बनेका छन्।
अन्तर्राष्ट्रिय विश्लेषकहरूका अनुसार मध्यपूर्वको युद्धका कारण कतिपय ठूला आपूर्तिकर्ताले ‘फोर्स मेज्योर’ लागू गर्दै ग्यासलाई अन्य प्राथमिकता प्राप्त क्षेत्रतर्फ मोड्न थालेका छन्। यदि यो द्वन्द्व अझै केही समय लम्बिएमा दक्षिण एसियाली अर्थतन्त्रमा ऊर्जाको थप दबाब पर्ने र इन्धनको मूल्य अझै बढ्ने निश्चित देखिएको छ। नेपालमा अहिले देखिएको यो संकटले आयातित इन्धनमाथिको परनिर्भरता र त्यसले निम्त्याउने आर्थिक जोखिमलाई पुनः सतहमा ल्याइदिएको छ।





