काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय हलमा बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बस्ने कार्यसूची रहेको छ।
आजको बैठकको मुख्य एजेन्डा सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्याललाई निर्वाचित गर्ने प्रस्ताव पेस गर्नु रहेको छ। अर्याल शुक्रबार नै सभामुख पदमा निर्विरोध निर्वाचित भइसकेका छन्। बैठकमा रास्वपाका सभापति रवि लामिछानेले अर्याललाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन् भने सांसदहरू डा. स्वर्णिम वाग्ले, सोविता गौतम र सुनिल लम्सालले उक्त प्रस्तावलाई समर्थन गर्नेछन्। आजको बैठकमा सो प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिनेछ। निर्वाचित सभामुख अर्यालको शपथ ग्रहण आजै दिउँसो ३ बजे राष्ट्रपतिको कार्यालयमा हुने तय भएको छ।
यसैगरी, राष्ट्रिय सभाको बैठक पनि आजै अपराह्न १२:१५ बजे सिंहदरबारमा बस्दैछ। बैठकमा सभाध्यक्षले विषयगत समितिका सदस्यहरूको मनोनयन तथा हेरफेर गर्ने र अध्यक्ष वा उपाध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको नाम घोषणा गर्ने कार्यक्रम छ। बैठकमा प्रधानमन्त्री बालेन शाहले महिला आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिएका छन्।





