- केशव अधिकारी
सिद्धलेक (धादिङ), १९ जेठ – पढेर सरकारी वा कर्पोरेट जागिर नै खानुपर्छ भन्ने परम्परागत सोच र कृषि–पशुपालनलाई कम आँक्ने सामाजिक धारणालाई धादिङ सिद्धलेक बलमडाँडाका पूर्णप्रसाद सिंखडाले कडा चुनौती दिनुभएको छ। अर्थशास्त्रको प्राध्यापन छाडेर मौरीपालनमा होमिनुभएका सिंखडा अहिले समाजका लागि एउटा बलियो उदाहरण बन्नुभएको छ।
उहाँको यो व्यावसायिक फड्कोले उच्च शिक्षा हासिल गरेपछि श्रमको सही सदुपयोग र मिहिनेत गर्ने हो भने आफ्नै घरआँगनमा बसेर पनि जागिरको भन्दा कयौँ गुणा बढी आम्दानी र आत्मसन्तुष्टि लिन सकिन्छ भन्ने प्रष्ट सन्देश दिएको छ। पछिल्लो समय पढेलेखेका युवा पुस्तामा कि त सरकारी वा कर्पोरेट जागिर खाने, कि त अवसरको खोजीमा विदेशिने लहर नै चलेको छ। कृषि वा पशुपालनलाई पेसाकै रूपमा स्वीकार गर्न हिचकिचाउने यो समाजमा धादिङको सिद्धलेक गाउँपालिका–१ बलमडाँडाका पूर्णप्रसाद सिंखडाको कथा भने अलि फरक र उत्पेरक छ। उहाँ प्रतिष्ठित शिक्षण पेसा छाडेर आफ्नै पाखापखेरामा मौरी पालिरहनुभएको छ र यसैमा आफ्नो सुन्दर भविष्य देखिरहनुभएको छ।
सिद्धलेक गाउँपालिका–१ बलमडाँडा स्थित सिंखडाको घर वरपर पुग्दा आँखै लोभ्याउने मौरीका घारहरू देखिन्छन्। धादिङको गल्छी गाउँपालिका वडा नम्बर ४ मा रहेको कार्कीडाँडा माध्यमिक विद्यालयको उच्च मावि कोटामा अर्थशास्त्र विषय अध्यापन गराउँदै आउनुभएका पूर्णप्रसादले नयाँ शैक्षिक सत्रदेखि अध्यापन यात्रामा पूर्णविराम लगाउनुभयो। कारण थियो– घरमा मौरीको सङ्ख्या बढ्दै जानु र श्रीमती एक्लैलाई ती मौरी स्याहार्न धौ-धौ हुनु। अध्यापन र व्यवसायलाई सँगसँगै लैजाँदा समय व्यवस्थापन नभएपछि उहाँले जागिरभन्दा आफ्नै माटोको पेसालाई रोज्नुभयो।
यो व्यवसायको जग नौ वर्षअघि उहाँकी श्रीमती गोमा सिंखडाले बसाल्नुभएको हो। गोमाले सुरुमा तीन दिने मौरीपालन तालिम लिएर ६० हजार रुपैयाँको लगानीमा २० वटा घारबाट यो यात्रा सुरु गर्नुभएको थियो। श्रीमान-श्रीमतीको अहोरात्रको मिहिनेत, धैर्यता र लगावका कारण आज यो व्यवसायले विशाल रूप लिएको छ। अहिले उहाँहरूसँग दुईवटा ठूला व्यावसायिक फार्म छन्, जहाँ तीन सयभन्दा बढी मौरीका घारहरू रहेका छन्।
सिंखडा दम्पतीले स्थानीय ‘एपिस सेरेना’ जातको मौरी पाल्नुभएको छ। पहाडी भेगको जडीबुटीयुक्त र प्राकृतिक चरन क्षेत्र भएकाले यहाँ उत्पादित महको बजारमा अत्यधिक माग छ। अहिले यस फार्मबाट वार्षिक तीन सयभन्दा बढी मौरीसहितको घार, पाँच सयभन्दा बढी खाली घार र पाँच सय किलोभन्दा बढी शुद्ध मह बिक्री हुने गरेको छ। मह र मौरीजन्य सामग्रीको बिक्रीबाट मात्रै यो दम्पतीले वार्षिक करिब ५० लाख रुपैयाँ बराबरको कारोबार गर्दै आएको छ। व्यवसायकै कारण अहिले उहाँहरू स्थानीय स्तरमा १० जनासम्मलाई रोजगारी दिन सक्ने अवस्थामा पुग्नुभएको छ।
उहाँहरूको यो लोभलाग्दो प्रगतिमा ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना’ले आधुनिक उपकरणहरू सहयोग गरेर केही राहत त दिएको छ, तर स्थानीय सरकारले भने आफूहरूको योगदानलाई बेवास्ता गरेकोमा उहाँहरूको चित्तदुखाइ छ। उत्पादन बढाउन र बजार व्यवस्थापन गर्न स्थानीय तहले पनि अभिभावकीय भूमिका खेलिदियोस् भन्ने उहाँहरूको चाहना छ। सिंखडा दम्पतीको यो व्यावसायिक फड्को कृषि क्षेत्रमा आउन चाहने नयाँ पुस्ताका लागि एउटा जीवन्त पाठशाला र उत्कृष्ट प्रेरणाको स्रोत बनेको छ। राज्यले यस्ता भुइँतहका मिहिनेती उद्यमीलाई बेलैमा पहिचान गरी व्यवसाय विस्तार र बजारीकरणमा प्रोत्साहन गर्न जरुरी देखिन्छ।





