एक समय यहाँ चारैतिर अन्धकार र जलमग्न थियो । निरंजन ठाकुर नाम गरेका सत्पुरुष र अन्धाअन्धी दम्पति बाहेक कुनै प्राणी र जमिनको अस्तित्व थिएन । ती तीनै जना पानीमा तैरिएका थिए । तीनै जना शक्तिशाली थिए । अन्धाअन्धी दम्पतिबीच प्रगाढ मायाप्रेम थियो । एकले अर्काको भावनाको कदर गर्थे । पतिव्रता र पग्नीव्रतका कारणले उनीहरू शक्तिशाली भएका थिए । पतिसँग दिव्यदृष्टि थियो । उनी अघि र पछिका सम्पूर्ण कुरा जान्दथे । जलको वाहेक अर्थोकको आवाज सुन्ने स्थिति त्यहाँ थिएन । सत्पुरुष निरंजन ठाकुर संसारको सृष्टि गर्ने इरादाले चारैतिर घुमफिर गर्दै निरीक्षण गर्न थाले । अकस्मात् उनले अन्धाअन्धी दम्पतिलाई देखे । अब भने उनको दिमाखमा एक किसिमको बुद्धि आयो ।
उनी दम्पति रहेदेखि पूर्व दिशामा गई टुबटुबू भनेर आवाज निकाल्न थाले । त्यो आवाजका वारेमा जसले वर्णन गर्छ त्यसले शक्तिहीन भई मर्नु पथ्र्यो । घरिघरि टुबटुबू आवाज आइरहेकाले अन्धीले केको आवाज हो कसले निकालिरहेको छ भनी अन्धालाई सोधिन् । अन्धाले त्यसका वारेमा बुभुने र बुझाउने काम गर्नुहुन्न भन्ने जवाफ फर्काए । अन्धी बडो जिद्दी गरिरहिन् । अन्धा चाहिँ नजाने गाउँको बाटै नसोधू भनी पन्छिदा भए । आखिरमा त्यो आवाजको वारेमा खुलस्त नबताएमा अन्धीले आत्महत्या गर्ने धम्की दिइन् । अन्धा त्यस्तो नसोच यस कुराले हाम्रो अनीष्ट बाहेक अर्को फल हामी केही पाउँदैनौँ भन्दा भए । बरु अब मर्छु नै भनेर अन्धी मर्न तयार भइन् । हेरेर मर्नु भन्दा छेरेरै मर्नु निको ठानी अन्धा सबै कुरा भन्न राजी भए । उनले भने हेर हाम्रो विछोडको घडी आइपुगेछ । यी सम्पूर्ण कुरा बुझिसकेपछि हामी अलगअलग हुन्छौँ र हाम्रो प्राण पनि धरापमा पर्छ । हाम्रो तागत हराउँदै जान्छ र हामी मारिन पनि सक्छौँ । यत्ति कुरा सुन्दा पनि अन्धीको अडान कायमै भयो ।
अन्धाले अगाडिका कुरा भन्नै पर्ने भयो । उनले भने लौ सुन यस जलमग्न ठाउँमा हामी वाहेक एक सत्पुरुष निरंजन ठाकुर नाम गरेका प्राणी छन् । उनैले हामीलाई देखी संसारको सृष्टि गर्ने इरादाले यो आवाज निकालेका हुन् । अहिले आवाज निस्केको दिशालाई पूर्व भनिन्छ । अब पश्चिम दिशामा टुबटुबू भनेर आवाज निस्कन थाल्यो । त्यो आवाज निस्केको दिशालाई पश्चिम दिशा भनिन्छ भनेर अन्धा वेलिविस्तार लगाउँदा भए । यही रीतिले उत्तर र दक्षिण दिशाबाट पनि आवाज आयो र अन्धाले नै ती दिशाको नामाकरण गरी अन्धीलाई सुनाए ।
त्यस पछि उनीहरुको शक्ति हराउँदै गयो । सत्पुरुष निरंजन ठाकुरले कदभर्खाको रुप लिए र युद्ध गरी अन्धालाई मारे । अन्धाको मृत लासको दाहिने हात देब्रे हात दाहिने खुट्टा र देब्रे खुट्टा क्रमशः पूर्व पश्चिम उत्तर र दक्षिण दिशामा फ्याँके र चार दिशा निर्धारण भयो । पेट चिरी माथि फ्याके र आकाश बन्यो । ढाड तल फ्याके र पाताल बन्यो । दाहिने आँखाबाट सूर्य बन्यो भने देब्रे आँखाबाट चन्द्रमा बन्यो । यत्ति गर्दा पनि जलमग्न अवस्था रहिरह्यो । त्यसैले कदभर्खा रुपी सत्पुरुष निरंजन ठाकुरले पानीमा माटोको जोर्डन हाली जमिन बनाउन झिँगे माछोको सृष्टि गरी चाँडो माटो ल्याउन पाताल पठाए । झिँगे माछा पाताल पुग्यो र माटो पनि भेट्यो । माटो उठाउन मुख गाड्दा उसको मुखको जुँगा नै त्यहीँ अल्झियो । केही गर्दा पनि ननिस्केकाले उसले माटो ल्याउन सकेन । धेरै काल वित्दा पनि माछो नफर्किएकोले हिले माछोको सृष्टि गरी काम अह्राए । त्यसले माटो ल्यायो । जोर्डन हालियो र जलमग्न क्षेत्र विस्तारै विस्तारै जमिनमा रुपान्तरण हुँदै गयो ।
जमिन थलथल गर्थ्यो अर्थात् हल्लिन्थ्यो । यस्तो ठाउँमा प्राणी अडिन सक्दैनन् भनी कदभर्खा रुपी सत्पुरुष निरंजन ठाकुर जमिनको नाइटो खोज्दै हिँड्न थाले र नेपालको वराह क्षेत्रमा नाइटो भेट्टाए । सुँगुरको रुप धारण गरी त्यो नाइटोलाई थुतुनोले क्याप्प समाएर माथि उचाल्दा जमिन स्थिर भयो र कडा माटोमा परिणत भयो । त्यसपछि उनले अरु प्राणीहरुको सृष्टि गर्दै गए । प्यारा भाइबहिनीहरू ! अहिले पनि सुनसरी जिल्लाको बराहक्षेत्रमा सुँगुर बराह ले धर्ती माथि उचालेको प्रतिमा हेर्न सकिन्छ । त्यस प्रतिमाको दर्शन गर्न वर्षेनी लाखौँ भक्तजनको घुइँचो लाग्छ ।