काठमाडौँ, २५ कात्तिक । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विशेष महाधिवेशनकाे माग गर्दै महाधिवेशन प्रतिनिधिहरूकाे हस्ताक्षर प्रमाणीकरण प्रक्रिया अघि बढाए पार्टी थप अप्ठ्यारोमा पर्ने चेतावनी दिएका छन्। मंगलबार केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै उनले विशेष महाधिवेशनकाे बारेमा निर्णय गर्ने अधिकार केन्द्रीय समितिमै रहेको स्पष्ट पारे।
उनका अनुसार हस्ताक्षर प्रमाणीकरण सुरु गर्नेबित्तिकै पार्टीभित्र विभाजनको मनोविज्ञान जन्मिने र त्यसले गम्भीर असर पार्न सक्नेछ। उनले भने, “विशेष महाधिवेशनको माग गर्नेहरूको हस्ताक्षर प्रमाणीकरण सुरु गरेको दिनदेखि नै विभाजनको मनोविज्ञान सिर्जना गर्छ। ४० प्रतिशत मात्रै पुगेर महाधिवेशनमा गयौँ भने पनि विभाजन त भयो नि, बाँकी ६० प्रतिशत विभाजित हुने सम्भावना हुन्छ।”
डॉ. कोइरालाले पार्टीभित्रको विवाद समाधानका लागि आफू समन्वयकारी भूमिकामा रहने उल्लेख गर्दै कांग्रेसमा मध्यमार्गी नेतृत्वले नै पार्टीलाई अगाडि बढाउने विश्वास व्यक्त गरे। नियमित महाधिवेशन हुन नसक्ने परिस्थितिमा विशेष महाधिवेशन बाध्यात्मक हुने तर्क समेत उनले प्रस्तुत गरे।





