काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र आज काठमाडौं आइपुग्नुभएका भारतीय विदेश सचिव विक्रम मिस्रीबीच शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
शीतल निवासमा आज भएको भेटवार्तामा दुई देशबीचको सम्बन्ध थप सुमधुर बनाउने र सहयोगका क्षेत्र विस्तारबारे कुराकानी भएको थियो । राष्ट्रपति पौडेलले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि नेपाल–भारत मिलेर काम गर्नुपर्ने बताउनुभयो । हिमाल र पानीको सुरक्षामा नै मानव जातिको सुरक्षा निर्भर रहेको हुनाले जलवायु परिवर्तनको असर न्यूनीकरणमा दुवै देश मिलेर काम गर्न जरुरी रहेको राष्ट्रपतिको भनाइ छ ।
भेटमा भारतीय विदेश सचिव मिस्रीले जलवायु परिवर्तनको असर न्यूनीकरणको विषय दुवै देशका लागि चुनौती रहेकाले यसमा मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । आजै भारतीय विदेश सचिव मिश्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालको निमन्त्रणामा भारतका विदेश सचिव विक्रम मिस्री नेपालको दुई दिने औपचारिक भ्रमणका लागि काठमाण्डौ आइपुग्नुभएको छ । विदेश सचिव मिस्री भोलि स्वदेश फर्कनु हुनेछ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।