काठमाडौं । यस वर्षको मनसुन नेपालका सबै भूभागबाट बाहिरिएको छ । असोज २० गते सुदूरपश्चिम र कर्णाली प्रदेशबाट बाहिरिएको मनसुन आज दशैंको टीकाको दिन कोशी प्रदेशबाट समेत बाहिरिएको हो । जल तथा मौसम विज्ञान विभागले आज बुलेटिन जारी गरी नेपालबाट मनसुन बाहिरिएको जानकारी दिएको छ ।
जुन, जुलाई, अगष्ट, सेप्टेम्बर महिनालाई मनसुन अवधि मानिन्छ । नेपालमा सरदर जुन १३ मा मनसुन भित्रिएर अक्टुबर २ मा बाहिरिन्छ । तर यसवर्ष सरदर मितिभन्दा तीन दिन अघि अर्थात् जुन १० (जेठ २८ गते) मनसुन भित्रिएको थियो । र, मनसुन बहिर्गमनको सरदर मिति (अक्टुबर २) भन्दा झण्डै एक हप्तापछि मनसुन बाहिरिन सुरु गरेको थियो ।
यस वर्ष सरदर मितिभन्दा १० दिन ढिलो मनसुन बाहिरिएको छ । यस वर्ष सरदर मितिभन्दा १० दिन ढिलो गरी मनसुन पूर्णरुपमा बाहिरिएको हो । नेपालमा यो वर्ष १२४ दिनसम्म मनसुन रह्यो । असोज दोश्रो साता अविरल वर्षासँगैआएको बाढी पहिरोका कारण नेपालमा २४० भन्दा बढीको ज्यान गएको छ भने अर्बौको भौतिक क्षति भएको अनुमान छ।
नेपालमा मनसुनी वर्षाको विवरण राख्न थालेको वर्ष १९६८ देखि हालसम्म सबैभन्दा ढिलो सन् २०१३ मा मनसुन बाहिरिएको थियो । सो वर्ष १९ अक्टुबरमा मनसुन बाहिरिएको रेकर्ड छ । यसैगरी सबैभन्दा छोटो अवधि सन् १९७९ मा ७३ दिनसम्म (जुन २४ देखि सेप्टेम्बर ४सम्म) मात्र मनसुन कायम थियो ।
पूर्वी वायु अर्थात् मनसुनी वायुलाई पश्चिमी वायुले प्रतिस्थापन गर्यो भने मनसुन बाहिरिएको भनिन्छ । पूर्वी नेपालबाट भित्रिने मनसुन पश्चिमबाट बाहिरिन सुरु गर्दछ । मनसुन बाहिरिने क्रममा भारतको मध्यप्रदेश, उत्तराखण्ड हुँदै नेपालको सुदूरपश्चिममा पश्चिमी वायु प्रवेश गर्दछ । मनसुन बाहिरिएपछि हिउँद अर्थात् जाडोयाम सुरु हुन्छ । यस वर्षको हिउँदमा जाडो कम र वर्षा बढी हुने प्रक्षेपण छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।