भरतपुर । नारायणगढ–मुग्लिन सडकखण्डको सत्रकिलोमा भएको दुर्घटनामा मृत्यु भएका पाँच जनाको पहिचान खुलेको छ ।
शुक्रबार बिहान ३ः०० बजे मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको बागमती प्रदेश ०६–००१ ज ०२९८ नम्बरको इलेक्ट्रिक हायस माइक्रो र नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २८१२ नम्बरको बस एकापसमा ठोक्किँदा पाँच जनाको मृत्यु भएको थियो ।
मृत्यु हुनेमा गोरखाको आरुघाट गाउँपालिका–१, मान्बुका ४२ वर्षीय राजबहादुर गुरूङ, माइक्रोबस चालक चितवनको खैरहनी नगरपालिका–४ का ४० वर्षीय अनोज अधिकारी, विनय त्रिवेणी गाउँपालिका–४ स्थित बगैँचाका ३५ वर्षीय सन्तोष भुसाल, निजका श्रीमती ३३ वर्षीया सविना भुसाल र भारत घर भई पोखरामा किराना पसल गर्दै आएका ३६ वर्षीय राजकुमार साह रहेका छन् ।
मृतकमध्ये सबै माइक्रोबसमा सवार यात्रु रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी भेषराज रिजालले जानकारी दिए ।
सो दुर्घटनामा एकजना घाइते गम्भीर अवस्थामा उपचाररत छन् । सत्रकिलोमा बिहान ३ः०० बजेतिर माइक्रोबस र बस एकापसमा ठोक्किएका थिए । गम्भीर घाइते एक जनाको भरतपुरमा रहेको सिएमसी शिक्षण अस्पतालमा उपचार भइरहेको छ । अन्य चार जना घाइते भने उपचारपछि डिस्चार्ज भएको प्रहरीले जनाएको छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।