धादिङ-बेनिघाट रोराङ गाउँपालिका वडा नं. ६ मा रहेको सोलिघोप्टे महारुद्र मन्दिरको धार्मिक बन समुदायलाई हस्तान्तरण गरिएको छ। डिभिजन बन कार्यालय, धादिङले परम्परागत धार्मिक बनको संरक्षण र व्यवस्थापनका लागि सो क्षेत्रलाई समुदायमा हस्तान्तरण गरेको हो।
डिभिजन बन कार्यालय प्रमुख विष्णु प्रसाद आचार्यले भने, “परम्परागत रूपमा धार्मिक बनको रूपमा रहेको सो क्षेत्रलाई समुदायले संरक्षण गर्न सकून् भन्ने उद्देश्यले हस्तान्तरण गरिएको हो।”
सोलिघोप्टे बन समूहका सचिव उमेश उपाध्यायका अनुसार, ८.४५ हेक्टरमा फैलिएको यस धार्मिक बन क्षेत्रमा करिब १५० उपभोक्ता आबद्ध छन्। वन क्षेत्र जैविक विविधताले समृद्ध छ र आयुर्वेदमा प्रयोग हुने अनेक जडीबुटी पाइन्छ।
सोलिघोप्टे क्षेत्रको पहुँच चरौँदी–स्यादुल हुँदै करिब २० किलोमिटरको दूरीमा छ। प्राकृतिक वातावरण र धार्मिक महत्वले यस क्षेत्रलाई पर्यावरणीय र धार्मिक पर्यटनको दृष्टिले महत्वपूर्ण बनाएको छ।
सोलिघोप्टे बनको किम्बदन्ती
पुरानो कथा अनुसार, खतिवडा कान्छा नामक व्यक्तिले यहाँ गाई चराउँदा ढुङ्गाहरू लगातार आफ्नो स्थानमा फर्किने गर्थे। एकपटक गाई हराएपछि ज्योतिषको सल्लाह अनुसार पूजा गरेपछि हराएका गाई फेला परे। त्यसपछि यहाँ नियमित पूजा सुरु भई सोलिघोप्टे महादेव मन्दिर स्थापना भएको विश्वास गरिन्छ।
धार्मिक र पर्यावरणीय महत्व
सोलिघोप्टे बन क्षेत्रले वैदिक सनातन जीवनशैली, प्राकृतिक जीवनशैली, स्वास्थ्य संरक्षण कला, धार्मिक मठ–मन्दिर, र प्राकृतिक सम्पदाको संरक्षण जस्ता कार्यहरूलाई अघि बढाउने लक्ष्य राखेको छ। गाउँबासी यस क्षेत्रको हरियाली, जैविक विविधता, रमणीय वातावरण र प्राकृतिक सम्पदाको संरक्षणमा सक्रिय छन्।
मूल्यवान लालीगुराँसको पकेट क्षेत्र समेत रहेको यस बनमा पर्यावरणीय पर्यटनको प्रवर्द्धनका लागि गाउँबासी तयार छन्। हिमालको दृश्यावलोकन, प्राकृतिक जडीबुटी संकलन र धार्मिक पर्यटनमार्फत क्षेत्रको सांस्कृतिक र प्राकृतिक महत्वलाई अझ बढी प्रवर्द्धन गर्ने योजना बन समूहले अगाडि सारेको छ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।




