काठमाडौं, २२ चैत । नेकपा एमालेभित्र पार्टी नेतृत्व र वर्तमान कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाउँदै विशेष महाधिवेशन बोलाउनका लागि हस्ताक्षर अभियान सुरु गरिएको छ। केपी शर्मा ओली तेस्रोपटक अध्यक्ष निर्वाचित भएको साढे तीन महिना नबित्दै पार्टीभित्र यस्तो परिस्थिति निर्माण भएको हो। विशेषगरी हालै सम्पन्न निर्वाचनमा पार्टीले व्यहोर्नुपरेको ऐतिहासिक पराजय र नेतृत्वप्रति जनताको बढ्दो अविश्वासलाई मुख्य कारण देखाउँदै महाधिवेशन प्रतिनिधिहरूले यो कदम चालेका हुन्।
केन्द्रीय कमिटी सदस्य र जनवर्गीय संगठनका पदाधिकारीहरूको समेत सहभागिता रहेको यस अभियानमा अहिलेसम्म ४४० जनाले हस्ताक्षर गरिसकेको दाबी गरिएको छ। अभियानमा सहभागी नेताहरूका अनुसार केही पदाधिकारीहरूले पनि यस प्रक्रियामा साथ दिएका छन्। अध्यक्षलाई सम्बोधन गरी तयार पारिएको मागपत्रमा २०४८ देखि २०८२ सम्मको संसदीय यात्रामा पार्टीले अहिले सबैभन्दा लज्जास्पद हार व्यहोरेको उल्लेख छ। प्रत्यक्षतर्फ १६५ मध्ये केवल ९ सिटमा खुम्चिनु र काठमाडौंका १५ मध्ये ११ क्षेत्रमा उम्मेदवारको जमानत जफत हुनुले पार्टीको कमिटी प्रणाली र वर्तमान नेतृत्व असफल भएको निष्कर्ष निकालिएको छ।
पार्टी विधानअनुसार बहुमत महाधिवेशन प्रतिनिधि परिषद् सदस्यले ठोस कार्यसूचीसहित लिखित माग गरेमा ६ महिनाभित्र केन्द्रीय कमिटीले विशेष महाधिवेशन आयोजना गर्नुपर्ने व्यवस्था छ। यदि केन्द्रीय कमिटीले महाधिवेशन नगरेमा प्रतिनिधिहरू आफैँले आयोजक कमिटी बनाएर अघि बढ्न सक्ने वैधानिक बाटो समेत खुला छ। पछिल्लो समय संसदीय दलको नेतामा सुहाङ नेम्वाङलाई रोक्ने प्रयास र ‘बादल प्रकरण’ ले पार्टीभित्रको संकटलाई झनै गहिरो बनाएको छ। विष्णु पौडेलजस्ता शीर्ष नेताहरू नै नेतृत्वको कार्यशैलीप्रति सार्वजनिक रूपमा प्रतिवादमा उत्रिएपछि एमालेभित्रको आन्तरिक संघर्ष अब निर्णायक मोडमा पुगेको विश्लेषण गरिएको छ।





