पोखरा | धादिङ-पोखरा लेखनाथ कल्याणकारी समाजको नवौँ साधारणसभा, शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम शनिबार पोखरामा भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि एवं धादिङ-पोखरा सम्पर्क समाजका उपाध्यक्ष दिनेश तुलाधरले समाजले स्थापनाकालदेखि नै सामाजिक एकता, आपसी सहयोग र क्षेत्रीय पहिचान संरक्षणमा खेलेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो। उहाँले जिल्लावासीप्रति समाजले देखाएको लगाव र सहयोगले संस्थालाई अझ सशक्त बनाएको उल्लेख गर्दै आगामी दिनमा नयाँ ऊर्जाका साथ युवा पुस्तालाई सामाजिक गतिविधिमा जोड्नुपर्नेमा जोड दिनुभयो।
त्यस्तै, गण्डकी मिजार समाजका अध्यक्ष तेजबहादुर नेपालीले लेखनाथ कल्याणकारी समाजले स्वास्थ्य र सामाजिक क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्दै यस्ता कार्यलाई निरन्तरता दिनुपर्ने सुझाव दिनुभयो।
समाजका निवर्तमान अध्यक्ष बुद्धराज बस्यालले सामूहिक प्रयास र एकताकै कारण संस्थाले विभिन्न कल्याणकारी कामहरू सफलतापूर्वक सम्पन्न गर्न सकेको स्मरण गर्नुभयो। सल्लाहकार तिलक रोकाले संस्थाको सुदृढीकरणका लागि दीर्घकालीन योजना र अनुशासन आवश्यक रहेको औंल्याउँदै अनुभव र युवाशक्तिको समन्वयबाट संस्थालाई नयाँ उचाइमा पुर्याउन सकिने धारणा राख्नुभयो।
साधारणसभामा महासचिव दुर्गा दुवाडीले संस्थाको कार्यप्रगति प्रतिवेदन र कोषाध्यक्ष किरण नेपालीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो, जसलाई सभाले सर्वसम्मतिले पारित गरेको छ।
समाजका अध्यक्ष प्रेम नेपालीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा वरिष्ठ उपाध्यक्ष मिष्टर रोकाले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन महासचिव दुर्गा दुवाडीले गर्नुभएको थियो। सोही अवसरमा समाजले आफ्नो वार्षिक परम्परालाई निरन्तरता दिँदै यस वर्षको भित्तेपात्रो (क्यालेन्डर) समेत सार्वजनिक गरेको छ। भित्तेपात्रो प्रकाशन समितिमा मिस्टर रोका संयोजक र गोपाल रोका सदस्य रहनुभएको छ।





