काठमाडौं – प्रतिनिधिसभाको उपसभामुख पदका लागि आगामी शुक्रबार, चैत २७ गते निर्वाचन हुने निश्चित भएको छ। बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले निर्वाचनको मिति घोषणा गर्दै उक्त दिन दिउँसो ४ बजे बैठक बस्ने जानकारी दिनुभयो। सभामुख अर्यालले निर्वाचन कार्यतालिका सम्बन्धी सूचना आजै प्रकाशित गर्न संघीय संसद् सचिवालयका सचिव हर्क राईलाई निर्देशन समेत दिनुभएको छ।
प्रतिनिधिसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था अनुसार यो प्रक्रिया अघि बढाइएको हो। यसअघि गत चैत २२ गते राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्याल निर्विरोध सभामुख निर्वाचित भइसक्नुभएको छ।
नेपालको संविधान र संसदीय नियमावली अनुसार सभामुख र उपसभामुख फरक-फरक दल र फरक-फरक लिङ्गको हुनुपर्ने अनिवार्य व्यवस्था छ। सभामुख पदमा रास्वपाका पुरुष उम्मेदवार निर्वाचित भइसकेकाले अब हुने निर्वाचनमा उपसभामुख पदमा रास्वपा बाहेकका अन्य दलबाट महिला सांसद निर्वाचित हुनुपर्नेछ। यस निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, राष्ट्रिय प्रजातन्त्र पार्टी र श्रम संस्कृति पार्टी लगायतका दलहरूबीच प्रतिस्पर्धा हुने सम्भावना देखिएको छ।





