काठमाण्डौं । अष्ट्रेलियन ब्रान्ड ‘आईविवी अष्ट्रेलिया’ का डायपर तथा बेबी केयर उत्पादनको नेपालका लागि आधिकारिक वितरक शुभम् हेल्थ केयर प्रोडक्ट्स प्रालिले भोटेकोशी बाढीपीडितको राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ नगद सहयोग गरेको छ।
आईविवी नेपालकी प्रबन्ध निर्देशक ब्यूटी कुमारी सर्राफले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको हो। विपद्को यस कठिन समयमा सहयोगी हात बन्न पाउँदा गौरवान्वित महसुस भएको प्रबन्ध निर्देशक सर्राफले बताउनुभयो।
गत तीन दिनमा उपभोक्ताहरूले आईविवीका उत्पादन खरिद गर्दा खर्च गरेको रकमबाट उक्त सहयोग जुटाइएको हो। आम उपभोक्ता, डिलर तथा रिटेलरहरूको असीमित साथ र विश्वासकै कारण थोरै समयमै ५० लाख रुपैयाँ सहयोग गर्न सम्भव भएको उहाँले प्रष्ट पार्नुभयो।
“यो डोनेसन आईविवीले होइन, तपाईँहरूले गर्नुभएको हो। यसमा मामुहरू सबैको हिस्सा छ, रिटेलरको मेहनत छ, डिलरको विश्वास छ,” उपभोक्ताप्रति कृतज्ञता व्यक्त गर्दै सर्राफले भन्नुभयो, “हिजोका दिनमा आईविवीका उत्पादन किनिदिएर हामीलाई मुनाफा नभएको भए र अहिले तपाईँहरूले नकिनिदिनुभएको भए तीन दिनमै यो रकम जम्मा गर्ने हिम्मत हुने थिएन।”
सो अवसरमा उहाँले बाढीलाई चिर्दै राहत लिएर खटिने प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्री, सुरक्षाकर्मी, राष्ट्रसेवक तथा स्वयंसेवकहरूप्रति समेत विशेष आभार प्रकट गर्नुभएको छ। आईविवीले व्यापारिक लाभलाई मात्र नभई संकटको बेला सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै आफ्ना उपभोक्ताको सहकार्यमा यो राहत अभियान सञ्चालन गरेको जनाएको छ।






