काठमाडौं । समाचार कक्षबाटै पक्राउ परेका सबै पत्रकार रिहा भएका छन्। सञ्चारमन्त्री विक्रम तिमल्सिनाले शुक्रबार राति सामाजिक सञ्जालमार्फत पक्राउ परेका सबै पत्रकार रिहा भइसकेको जानकारी दिएका हुन्।
उनले सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिता लोकतन्त्रका आधारस्तम्भ भएको बताएका छन्।
शुक्रबार प्रहरीले पत्रकार विश्वमणि सुवेदी, मोटिभेट न्युजका अध्यक्ष तथा प्रधान सम्पादक शोभराज बराल र डीएनए अनलाइनका धीरज बस्नेतलाई नियन्त्रणमा लिएको थियो।
पत्रकारहरूलाई समाचार कक्षबाटै पक्राउ गरिएको घटनापछि विभिन्न सञ्चारकर्मी, पत्रकार महासंघ तथा प्रेस स्वतन्त्रताका पक्षधरहरूले विरोध जनाएका थिए। घटनाको चौतर्फी आलोचना भएपछि प्रधानमन्त्री बालेन शाहले पक्राउ परेका सबै पत्रकारलाई रिहा गर्न निर्देशन दिएका थिए।
प्रधानमन्त्रीको निर्देशनपछि नियन्त्रणमा लिइएका पत्रकारहरू रिहा भएका हुन्। पत्रकार पक्राउ र रिहाइको घटनाले पछिल्लो समय प्रेस स्वतन्त्रता, पत्रकारको सुरक्षा र समाचार लेखेकै आधारमा हुने कानुनी कारबाहीको विषयलाई पुनः चर्चामा ल्याएको छ।






