काठमाडौं । सुनचाँदीको मूल्य दिन प्रतिदिन बढ्दै जान थालेपछि सरकारले सुनचाँदीमा लगाएको भन्सार दर घटाएको छ । भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनीका अनुसार मन्त्रि परिषदको निर्णय अनुसार सुनचाँदीमा लगाएको भन्सार दर घटाईएको हो ।
पुडासैनीका अनुसार, सुनको भन्सार दर १० प्रतिशतमा झारिएको छ । यसअघि सुनको भन्सार दर २० प्रतिशत रहेको थियो ।
सरकारले बजेटमार्फत सुनको भन्सार दर २० प्रतिशत पुर्याएको थियो । तर, भारत सरकारले भन्सार दर घटाउँदा नेपालमा सुनको मूल्य महँगो र भारतमा सस्तो भएको थियो । यसले सुन तस्करी मौलाएको व्यवसायीहरूले नै बताउँदै आएका थिए ।
त्यस्तै, चाँदीमा लगाइएको भन्सार दर पनि घटाइएको छ । बजेटमार्फत १५ प्रतिशत पुर्याइएको भन्सार दर १० प्रतिशतमा झारिएको समेत उनले जानकारी दिए ।





