काठमाण्डौं १२ मंसिर २०८१ । कक्षा १२ को पढाइपछि बिदेसिने विद्यार्थीको संख्या बढ्दै जाँदा नेपालका पाँच सयभन्दा धेरै क्याम्पसमा विद्यार्थीको अभाव देखिएको छ ।
पछिल्लो समय क्याम्पसमा विद्यार्थी टिकाउनै समस्या हुँदै गएको छ। १२ पास हुनेवित्तिकै युवा विदेश पलायन हुन थालेपछि क्याम्पसमा विद्यार्थीको संख्या न्यून हुँदै गएको हो।हरेक वर्ष विद्यार्थीको संख्या घट्दै गएपछि क्याम्पस बन्द हुने अवस्थामा पुगेका छन् ।
विश्वविद्यालय अनुदान आयोगले एक साताअघि तयार पारेको प्रतिवेदनअनुसार एक सयभन्दा थोरै विद्यार्थी रहेका देशभर सबै विश्वविद्यालयमातहतका पाँच सय पाँचवटा क्याम्पस छन् ।
आयोगको तथ्यांकअनुसार हाल देशभर जम्मा एक हजार ४३२ वटा क्याम्पस छन् । हाल सयभन्दा कम विद्यार्थी भएका क्याम्पसमध्ये १७८ वटा सामुदायिक, १९ वटा आंगिक र ३०८ वटा निजी क्याम्पस छन् । तीमध्ये ५०५ मा सयभन्दा थोरै विद्यार्थी छन् । हाल विश्वविद्यालयहरूका आंगिक क्याम्पस १६४ छन् । सम्बन्धन प्राप्त सामुदायिक क्याम्पसको संख्या ५४० भन्दा बढी छन् । ७२३ निजी क्याम्पस छन् ।
विश्वविद्यालय अनुदान आयोगले क्याम्पसहरूको नतिजा, कार्यक्रम र विद्यार्थी संख्या हेरेर सातदेखि ३२ लाखसम्म अनुदान दिन्छ । विश्वविद्यालयबाट अनुदान पाउन योग्य हुन हिमाली क्षेत्रमा रहेको सामुदायिक क्याम्पसमा कम्तीमा ५०, पहाडका क्याम्पसमा ७५, तराईका क्याम्पसमा एक सय र उपत्यकाका क्याम्पसमा १५० विद्यार्थी संख्या हुनुपर्छ । यदि योभन्दा कम संख्या भएमा अनुदान दिइँदैन ।
पछिल्लो ५ बर्षको तथ्यांक हेर्ने हो भने देशभरका क्याम्पसहरुमा प्रत्येक बर्ष विद्यार्थीको संख्या घटिरहेको छ । पहिलो बर्ष भर्ना हुने र अन्तिम बर्ष भर्ना हुनेको संख्या हेर्ने हो भने, त्यो संख्या अझै फरक छ । आधा भन्दा बढि विद्यार्थीहरु अन्तिम बर्षसम्म क्याम्पसमा टिक्दैनन् ।
आयोगकै प्रतिवेदनका आधारमा त्रिविअन्तर्गतका ३५ वटा क्याम्पस गत वर्ष गाभिएका थिए ।
बिदेसिने युवाको संख्या बढ्दै गएकाले पनि त्यसको असर उच्च शिक्षामा देखिएको उनको भनाइ छ । हाल त्रिविका क्याम्पसहरूमा करिब चार लाख ९१ हजार र अन्य विश्वविद्यालयमातहतका क्याम्पसमा दुई लाखहाराहारी विद्यार्थी छन् । अन्यको तुलनामा त्रिविमा विद्यार्थी संख्या बढी भए पनि हरेक वर्ष विद्यार्थी संख्या खस्कँदो छ । यस वर्ष स्नातकोत्तर तहको भर्नादेखि नै त्रिविका क्याम्पसमा विद्यार्थी संख्या कम हुन थालेको छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।