काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समानता र समावेशी नीति अपनाएर धनी र गरीबबीचको खाडल मेट्नुपर्ने बताउनुभएको छ ।
छैटौँ एशियाली जनसङ्ख्या सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले जनसङ्ख्याका मुद्दालाई आर्थिक, सामाजिक र राजनीतिक रणनीतिका रुपमा हेरिनुपर्ने बताउनुभयो । विकास र जनघनत्वका सहसम्बन्धलाई ध्यान दिएर सीमान्तकृत तथा विपन्न समुदायको सहज जीवनयापनका लागि आधारभुत आवश्यकताको परिपूर्ति गर्न सरकारका प्रयासहरु जारी रहेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले आत्मसम्मानसहितको मानव अधिकार, स्वस्थ्य र आशासहितको विश्व निर्माणमा सबै एक हुनुपर्नेमा जोड दिनुभयो । उहाँले पृथ्वी र मानवको रक्षार्थ लाग्दै मानवीय विकास, अशल जीवनयापनका समस्या र समाधानका उपायका लागि यस्ता विषयमा हुने सम्मेलनले गहन सुझाव दिने अपेक्षा गर्नुभयो । प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ आकंक्षालाई देखिने खालका उपलब्धिमा रुपान्तरित गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनका मुद्दालाई सामना गर्न विश्वव्यापी साझेदारीलाई महत्वका साथ बढाउनुपर्ने भन्दै दिगो विकास, सुशासन र सामूहिक प्रयास अत्वावश्यक भएको बताउनुभयो ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।