हेटौंडा– नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले दलका नेतासमेत रहेका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले लिने विश्वासको मतमा तीन बुँदे ह्वीप जारी गरेको छ ।
२७ साउनमा मुख्यमन्त्री बानियाँले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम विश्वासको मत लिँदैछन् । प्रदेशसभा सचिवालयले दिउँसो ४ बजेका लागि बैठक आह्वान गरिसकेको छ ।
दल नेता बानियाँले कांग्रेस संसदीय दलको ९ सदस्यीय कार्यसमिति गठन गरेसँगै बसेको बैठकले ह्वीप जारी गर्ने निर्णय गरेको प्रदेशसभा सदस्य सुरजचन्द्र लामिछानेले जानकारी दिए ।
ललितपुर भैंसेपाटीस्थित मुख्यमन्त्री निवासमा आज दिउसो बसेको कांग्रेस संसदीय दलको बैठकले विश्वासको मतको पक्षमा मतदान गर्न ह्वीप जारी गर्ने निर्णय गरेको हो ।
दलको कार्यसमिति बैठकले प्रवक्तामा लामिछाने तोक्ने र ३ सदस्यीय अनुशासन समिति गठन गर्ने निर्णय गरेको छ । अनुशासन समिति सदस्यमा लामिछाने, छिरिङ दोर्जे लामा र विनु रायमाझी पौडेल रहेका छन् ।
यसैगरी बैठकले २७ साउन १ बजे कांग्रेस संसदीय दलको कार्यालय हेटौंडामा दलको बैठक राख्ने निर्णय गरेको लामिछानेले जानकारी दिए ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।




