काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेदवार सूची आज र भोलि बुझाउनुपर्ने जनाएको छ। आयोगका अनुसार पुस १३ र १४ गते दिउँसो ४ बजेसम्म दलहरूले समानुपातिक उम्मेदवारको बन्दसूची बुझाइसक्नुपर्नेछ।
निर्वाचन तालिकाअनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन दर्ता भएका राजनीतिक दलहरूले आयोग परिसरमा रहेको समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालयमा कार्यालय समयभित्र सूची पेश गर्नुपर्ने आयोगले जनाएको छ।
आयोगका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा २८, प्रतिनिधि सभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम १४ तथा प्रतिनिधि सभा समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को दफा १३ बमोजिमको विधि, प्रक्रिया र आवश्यक प्रमाण कागजात पूरा गरी रीत पुर्याएर मात्र उम्मेदवारको बन्दसूची बुझाउन सकिनेछ।
साथै, राजनीतिक दलहरूले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची आयोगमा पेश गरेपछि वा पेश गर्नुअघि नै सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गर्न सक्ने व्यवस्था पनि रहेको आयोगले स्पष्ट पारेको छ।





