धादिङ । धादिङ जिल्लालाई कार्यक्षेत्र बनाएर सञ्चालन भइरहेका अनलाइन सञ्चारमाध्यमका सञ्चालकहरू एकजुट भई अनलाइन मिडियाको व्यावसायिक हकहित संरक्षण र प्रवर्द्धनका लागि ‘अनलाइन मिडिया सोसाइटी धादिङ’ गठन गरिएको छ। जिल्लामा क्रियाशील अनलाइन मिडियालाई संस्थागत, उत्तरदायी र मर्यादित बनाउँदै पत्रकारिताको विश्वसनीयता अभिवृद्धि गर्ने उद्देश्यका साथ सोसाइटी स्थापना गरिएको हो।
धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमा २०८२ साल पुस १६ गते सम्पन्न अनलाइन मिडिया सञ्चालकहरूको भेलाले धादिङन्युज डट कमका सञ्चालक केशव अधिकारीको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। भेलामा जिल्लामा सञ्चालनमा रहेका विभिन्न अनलाइन मिडियाका सञ्चालकहरूको सहभागिता रहेको थियो।
अध्यक्ष अधिकारीको नेतृत्वमा गठित कार्यसमितिमा धादिङपोष्ट डट कमका सञ्चालक नारायण सिलवाल उपाध्यक्ष, बागमतीकलम डट कमका सञ्चालक तथा प्रधानसम्पादक अनिलकुमार नेपाली सचिव, अस्मिपोष्ट डट कमका सञ्चालक मनिष श्रेष्ठ सह–सचिव तथा गणेशहिमाल प्रेस डट कमकी अध्यक्ष तथा प्रधानसम्पादक विनु सिम्खडा कोषाध्यक्ष रहनुभएको छ। यस्तै, इप्रत्युष डट कमकी सञ्चालक दीपा लम्साल, होराइजन खबरका सञ्चालक गजेन्द्र गुरुङ, नागरिकपाटी डट कमका अध्यक्ष तथा सम्पादक रामबहादुर ठकुरी (आशिष) र समाचारपेज डट कमकी सञ्चालक सीता सापकोटा (सितल) कार्यसमिति सदस्यमा चयन हुनुभएको छ।
नवनिर्वाचित अध्यक्ष केशव अधिकारीले अनलाइन सञ्चार माध्यममार्फत गरिने पत्रकारिताको व्यावसायिक स्थायित्व, मर्यादा र गरिमा अभिवृद्धि गर्दै अनलाइन पत्रकारितालाई थप विश्वसनीय र उत्तरदायी बनाउने उद्देश्यले सोसाइटी गठन गरिएको बताउनुभयो। उहाँका अनुसार पछिल्लो समय अनलाइन पत्रकारिताको प्रभाव र पहुँच बढ्दै गइरहेका बेला त्यससँगै देखिएका व्यावसायिक, कानुनी तथा नैतिक चुनौतीहरूको सामूहिक रूपमा सामना गर्न सोसाइटीले महत्वपूर्ण भूमिका खेल्नेछ।
सोसाइटीले अनलाइन पत्रकारिताको व्यावसायिक गुणस्तर र क्षमता अभिवृद्धिका लागि पहल गर्ने, सूचना प्रविधिमा आएका नवीनतम प्रविधिको प्रयोगमा पत्रकार र सञ्चालकहरूलाई अभ्यस्त गराउने लक्ष्य लिएको छ। साथै, अनलाइन पत्रपत्रिका दर्ता, नवीकरण तथा आबद्धताका क्रममा सरकारी तहमा देखिने अनावश्यक कानुनी झमेला, ढिलासुस्ती र प्रक्रियागत जटिलता न्यूनीकरणका लागि सम्बन्धित निकायसँग समन्वय र सहजीकरण गर्ने योजना रहेको छ।
त्यसैगरी, अनलाइन सञ्चारमाध्यमका लागि न्यायोचित र पारदर्शी रूपमा विज्ञापन वितरण सुनिश्चित गर्न पहल तथा दबाब सिर्जना गर्ने, अनलाइन सञ्चालक तथा सञ्चारकर्मीले भोग्दै आएका कानुनी र व्यावसायिक समस्या समाधानका लागि सरोकारवाला निकायहरूसँग निरन्तर संवाद र सहकार्य गर्दै अघि बढ्ने सोसाइटीको कार्यदिशा रहेको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो।
अनलाइन सञ्चार संस्था सञ्चालकहरूलाई एकीकृत र संगठित गर्दै समग्र अनलाइन पत्रकारिताको हकहित संरक्षण, व्यावसायिक सुदृढीकरण र पत्रकारिताको विश्वसनीयता अभिवृद्धिका लागि ‘अनलाइन मिडिया सोसाइटी धादिङ’ प्रभावकारी रूपमा क्रियाशील रहने विश्वास व्यक्त गरिएको छ।
संस्थाको प्रारम्भिक साधारण सभामा धादिङ जिल्लाभित्रबाट सञ्चालन भइरहेका २८ वटा अनलाइन मिडियाका सञ्चालकहरूको प्रतिनिधित्व रहेको थियो। साधारण सभामा अनलाइन पत्रकारिताको वर्तमान अवस्था, चुनौती र सम्भावनाबारे व्यापक छलफल गरिएको थियो।
साधारण सभामा नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सीताराम अधिकारी, महासंघ बागमती प्रदेश समितिका सदस्य सन्तोष अधिकारी, नेपाल पत्रकार महासंघ जिल्ला शाखाका पूर्व अध्यक्षहरू नवराज छत्कुली र राजाराम शर्मा, साथै नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य पोषनाथ अधिकारी लगायतको आतिथ्य रहेको थियो।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।




