काठमाडौं, -पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म वैदिक सनातन धर्मावलम्बीहरूले घरघरमा विधिपूर्वक माघ स्नान, स्वस्थानी व्रत र कथा वाचन** गर्दै देवीदेवताको पूजा आराधना सुरु गरेका छन्।
स्वस्थानी व्रतको परम्परा अनुसार पौष शुक्ल चतुर्दशीको दिन हात–गोडाका नङ काटी शुद्ध वस्त्र लगाएर व्रतको सुरुआत गरिन्छ। व्रतालुले बिहान माघ स्नान गरी मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गर्छन् भने बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्य कथाको श्रवण गरिन्छ। कथावाचन परम्पराअनुसार बिहान वा बेलुकी गर्न सकिन्छ।
एक महिनासम्म व्रत गर्ने बित्तिकै माघ शुक्ल पूर्णिमामा १०८ जना, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता, विभिन्न थरीका फलफूल, धूप–बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र र भेटी चढाइ व्रतको कामना पूरा होस् भनी भगवतीलाई अर्घ्य दिइन्छ। चढाइएका प्रसादमध्ये सबैबाट आठ–आठ पती, पति नभए छोरा, छोरा नभए मीत छोरा, मीत छोरा नभए व्रतालुको कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा अर्पण गर्ने चलन रहेको छ।
व्रतालुले फलाहार गरी राति जाग्राम बस्ने र देवीको माहात्म्य सुन्ने–सुनाउने परम्परा पालन गर्छन्। यसरी व्रत गरेमा मनोकामना पूरा हुने, रोग–व्याधि निको हुने र बिछोड भएका जोडीको पुनर्मिलन हुने धार्मिक विश्वास रहेको छ।
धर्मशास्त्रअनुसार स्वस्थानीको अर्थ आफू बसेको स्थानकी देवी हो। उत्तरायणपछिको समय ध्यान, योग र साधनाका लागि उपयुक्त मानिने भएकाले पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको समय विशेष महत्व राख्छ।
स्कन्द पुराणमा स्वस्थानी देवीलाई सुवर्ण वर्णकी, त्रिनेत्रधारी, प्रसन्न मुद्रा, कमल र सिंहासनमा बसेकी, चार हात भएकी देवीका रूपमा वर्णन गरिएको छ। प्राडा देवमणि भट्टराईका अनुसार स्वस्थानीको चार हातमध्ये पहिलो हातमा नीलकमल, दोस्रो हातमा खड्ग, तेस्रो हातमा ढाल र चौथो हातमा वरदमुद्रा रहेको छ।
विशेष धार्मिक विश्वासअनुसार, विधिपूर्वक स्वस्थानी व्रत गरेमा बिछोड भएका जोडी पुनर्मिलन हुने, रोग–व्याधि ठीक हुने र पति–पत्नीको इच्छित प्राप्ति हुने बताइन्छ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।




