काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा अपेक्षाभन्दा कमजोर परिणाम आएपछि नेकपा (एमाले) भित्र नेताहरूबीच आरोप–प्रत्यारोप सुरु भएको छ। चुनावी हारको जिम्मेवारीबारे नेताहरूले एक–अर्कालाई दोष दिन थालेपछि पार्टीभित्रको आन्तरिक असन्तुष्टि सार्वजनिक भएको हो।
एमाले नेता गोकुल बास्कोटाले नेता शेरबहादुर तामाङलाई २०३८ सालदेखिको राजनीतिक इतिहास हेर्न सुझाव दिँदै आफू तामाङजस्तो अवसरवादी नभएको टिप्पणी गरेका छन्। बास्कोटाले पदका लागि गुट परिवर्तन र पार्टी फुटाउने प्रवृत्तिको आरोपसमेत लगाएका छन्। यसअघि तामाङले भने आफ्नै निर्वाचन क्षेत्र जोगाउन नसक्ने नेताहरूले अध्यक्ष केपी शर्मा ओलीलाई दोष दिएर उम्किन नपाउने बताएका थिए।
यस्तै, एमाले महासचिव शंकर पोखरेल र उपमहासचिव योगेश भट्टराईबीच पनि सार्वजनिक रूपमा प्रतिक्रिया आदानप्रदान भएको छ। भट्टराईले निर्वाचनमा आफूलाई प्रभावकारी रूपमा परिचालन नगरिएको गुनासो गरेपछि पोखरेलले त्यसको जवाफ फर्काएका हुन्।
पार्टीका अर्का नेता प्रदीप ज्ञवालीले भने अहिले एमाले इतिहासकै कठिन चरणमा पुगेको उल्लेख गर्दै नेताहरूलाई एक–अर्कालाई दोषारोपण नगर्न आग्रह गरेका छन्। उनले पार्टीभित्र नीतिगत, संरचनागत र कार्यशैलीसम्बन्धी गम्भीर समीक्षा आवश्यक रहेको बताएका छन्।
प्रतिनिधिसभा निर्वाचनमा एमालेले ०४८ पछिकै कमजोर परिणाम भोगेको छ। प्रत्यक्षतर्फ नौ सिटमा सीमित भएको एमालेले समानुपातिकतर्फ १६ सिट मात्र प्राप्त गरेको छ। यही परिणामपछि पार्टीभित्र नेतृत्वले जिम्मेवारी लिनुपर्ने आवाज पनि उठ्न थालेको छ।
कतिपय नेताहरूले अध्यक्ष केपी शर्मा ओलीले नैतिक जिम्मेवारी लिएर नेतृत्व छाड्नुपर्ने धारणा व्यक्त गरेका छन्। तर ओलीले भने चुनावी परिणाम स्वीकार गरे पनि राजीनामाबारे कुनै संकेत दिएका छैनन्।
यसैबीच एमाले सचिवालय बैठकले प्रारम्भिक रूपमा पार्टीले गरेका काम र नेतृत्वमाथि भएका आरोप–आक्रमणबारे जनतालाई स्पष्ट रूपमा बुझाउन नसक्दा निर्वाचन परिणाम प्रतिकूल बनेको निष्कर्ष निकालेको छ। सचिव लेखराज भट्टका अनुसार पार्टीका उपलब्धि र घटनाक्रम जनतामाझ प्रभावकारी रूपमा पुग्न नसक्दा भ्रम सिर्जना भएको र त्यसले जनमतमा असर परेको बुझाइ बैठकमा व्यक्त गरिएको छ।
(तस्बिर-एआईबाट )





