काठमाडौँ । दक्षिणी फिलिपिन्सको तटीय क्षेत्रमा सोमबार बिहान गएको ७.८ रेक्टर स्केलको शक्तिशाली भूकम्पका कारण हालसम्म कम्तीमा ३५ जनाको मृत्यु भएको छ भने २०० भन्दा बढी घाइते भएका छन् । धेरैजसो भवनहरू भत्किँदा अझै पनि मानिसहरू पुरिएको आशंका गरिएको छ ।
यो भूकम्प दुई महिनाको गर्मी बिदापछि विद्यालयहरू खुल्ने र नयाँ शैक्षिक सत्र सुरु हुने पहिलो दिनमै गएको हो । विद्यालयमा भइरहेको झण्डा फहराउने (Flagg-raising) कार्यक्रममा रहेका सयभन्दा बढी विद्यार्थी र शिक्षकहरू भूकम्पले आत्तिएर बाहिर भागेका थिए । राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले प्रभावित क्षेत्रमा तत्कालका लागि विद्यालयहरू बन्द गर्न निर्देशन दिँदै “सरकारले मिन्डानाओ टापुलाई एक्लो नछोड्ने र उद्धारमा हरसम्भव प्रयास गर्ने” प्रतिबद्धता जनाउनुभएको छ ।
सुनामी र पहिरोको वितण्डा: भूकम्पपछि समुद्रमा करिब १ मिटर अग्लो सुनामीको छाल सरोकारवाला तटीय क्षेत्रमा पुगेको थियो । सराङ्गानी प्रान्त अन्तर्गतको ग्लान नगरपालिकामा भूकम्पका कारण गएको विशाल पहिरोमा पुरिएर १३ जना गाउँलेको मृत्यु भएको छ । प्रान्तीय विपद् व्यवस्थापन अधिकारी रेने पुन्जालनका अनुसार सराङ्गानीमै थप ४ जनाको ज्यान गएको छ ।
मुख्य बन्दरगाह शहर जनरल सान्तोसमा धेरैजसो कम तला भएका व्यापारिक भवन, सुपरमार्केट, गोदाम र विद्यालयहरू ढलेका वा गम्भीर क्षतिग्रस्त भएका छन् । त्यहाँ कम्तीमा ४ जना अझै बेपत्ता छन् । भूकम्पका कारण जनरल सान्तोस अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ भने १७ वटा आन्तरिक उडानहरू रद्द गरिएका छन् । बाक्लो जनसङ्ख्या भएको क्षेत्र र विद्युत तथा सञ्चार सेवा अवरुद्ध भएकाले उद्धार टोलीलाई कठिनाइ भइरहेको छ ।
यो भूकम्प समुद्रमा, मिन्डानाओ टापु नजिक केन्द्रित थियो, जसको गहिराइ करिब ३३ किलोमिटर रहेको फिलिपिन्स ज्वालामुखी तथा भूकम्प विज्ञान संस्थानले जनाएको छ । भूकम्पका कारण आएका साना सुनामीका छालहरू इन्डोनेसिया, पलाउ र दक्षिण जापानसम्म पनि मापन गरिएको छ भने मलेसियाको सबाह क्षेत्रमा समेत कडा धक्का महसुस गरिएको थियो ।
भूकम्पपछि १०० भन्दा बढी शक्तिशाली परकम्पहरू आइसकेकाले अधिकारीहरूले क्षतिग्रस्त भवनहरूमा प्रवेश नगर्न सर्वसाधारणलाई सचेत गराएका छन् । यसैबीच संयुक्त राज्य अमेरिका, फ्रान्स, जापान र न्युजिल्यान्डले फिलिपिन्स सरकारलाई संकटको यो घडीमा आवश्यक सहयोग गर्न तयार रहेको घोषणा गरेका छन् । फिलिपिन्स प्रशान्त महासागर वरिपरि रहेको अत्यधिक जोखिमयुक्त ‘रिङ अफ फायर’ क्षेत्रमा पर्ने भएकाले यहाँ बारम्बार यस्ता विनाशकारी प्राकृतिक विपद्हरू आउने गर्छन् ।





