काठमाडौं । पाथीभरा केबलकार विवादले उग्र रुप लिँदै गएपछि ताप्लेजुङमा निषेधाज्ञा जारी गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले शनिबार मध्यरातमा सूचना सार्वजनिक गर्दै निषेधाज्ञा जारी भएको जानकारी गराउनुभएको हो ।
सूचनामा उल्लेख भए अनुसार ताप्लेजुङ सदरमुकाम फुङ्लिङ बजार क्षेत्र र पाथीभराको काफ्लेपाटी, बलुडाँडा क्षेत्रमा निषेधाज्ञा कार्यान्वयन हुनेछ।
अर्को सूचना नभएसम्मका लागि आइतबार बिहान ५ बजेदेखि निषेधाज्ञा कार्यान्वयन भएको छ। शनिबार साँझमात्र केबलकार पक्ष र विपक्षको झडपमा दर्जनौ स्थानीय घाइते भएपछि प्रशासन निषेधाज्ञा जारी गर्न पुगेको हो। सुचनामा प्रतिकूल परिस्थिति बनेका कारण स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३)(क) बमोजिम निषेधाज्ञा जारी गरिएको उल्लेख छ।
सूचनामा सदुरमुका फुङ्लिङ बजारसहित पूर्वतर्फ फुङलिङ नगरपालिका ७ सल्लेरी, पश्चिममा घोडेटार थलङधारा, उत्तरतर्फ उकालीपानी र दक्षिणतर्फ शेर्पा टोल, भेटेरिनरी कञ्चनजङ्घा टोलसम्म निषेधाज्ञा तोकिएको छ।
पाथीभरा क्षेत्रको काफ्लेपाटी बलुडाँडाको पूर्वतर्फ पर्यटक प्रहरी भवन, पश्चिमतर्फ बलुडाँडा डढेले इलाका, उत्ततरतर्फ केबुलकार बेस स्टेशन र दक्षिणतर्फ निर्माणधीन नयाँ बसपार्कको १०० मिटर क्षेत्रभित्र सीमा निषेधाज्ञाका लागि तोकिएको छ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
