काठमाडौँ । नेकपा माओवादी केन्द्रले जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा पार्टीका कार्यकर्ता संलग्न देखिए कारवाही गर्ने बताएको छ ।
पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले आइतबार विज्ञप्ति जारी गर्दै आफ्नै पार्टीको कार्यालयहरु, अध्यक्ष प्रचण्डलगायत दर्जनौं नेता, कार्यकर्ता र परिवारका घर तथा अन्य सम्पत्तिमा आग्नजनी तोडफोड गर्ने कार्य भएको र उल्लेखित गतिविधिमा पार्टीसँग सम्बन्धित कोही कसैको संलग्नता देखिए हामी कडा भन्दा कडा कारबाही गर्न तयार रहेको बताएका छन् ।
प्रवक्ता सापकोटाले तथ्य र प्रमाण फेला परे सरकारले सख्त कारबाही गर्न पनि आग्रह गरेका छन् ।
माओवादी केन्द्रले भनेको छ-
जेनजी पुस्ताले उठाएका मागहरू सम्बन्धी हाम्रो पार्टीको नीति तथा धारणा अध्यक्ष क. प्रचण्डले सार्वजनिक अपिल प्रकाशित गर्दै स्पष्ट गरिसक्नु भएको छ । आन्दोलन भित्र प्रतिगामी, लोकतन्त्र र गणतन्त्र विरोधी तत्वहरु घुसेर जुन खालको विध्वंस र वितण्डा मच्चाएका छन्, त्यसको हाम्रो पार्टी कडा शब्दमा विरोध र भ्रत्सर्ना गर्दछ । यसले आन्दोलनको मूल उद्देश्य र छविलाई नै धुमिल बनाएको छ ।
हाम्रो पार्टीको कार्यालयहरु, अध्यक्ष क. प्रचण्ड लगायत दर्जनौं नेता, कार्यकर्ता र परिवारका घर तथा अन्य सम्पत्तिमा आग्नजनी तोडफोड गर्ने कार्य भएका छन् । त्यो तथ्य जनतासामु प्रष्ट छ । यही उल्लेखित गतिविधिमा हाम्रो पार्टीसँग सम्बन्धित कोही कसैको संलग्नता देखिए हामी कडा भन्दा कडा कारबाही गर्न तयार छौं । तथ्य र प्रमाण फेला परे सरकारले सख्त कारबाही गरोस् भनि आग्रह गर्दछौं ।
यो तथ्य जनतासामु प्रष्ट हुँदाहुँदै केही व्यक्ति वा समूहले यस्ता ध्वंसात्मक क्रियाकलापमा माओवादी कार्यकर्ताको संलग्नता भनि गरिएको प्रचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यस्ता आधारहीन हल्ला फैलाएर हाम्रो पार्टी तथा आन्दोलनलाई कमजोर बनाउने प्रति सचेत रहँदै यस प्रकारका दुष्प्रचारबाट भ्रममा नपर्न हाम्रो पार्टी आम जनसमुदायमा हार्दिक अपिल गर्दछ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
