काठमाडौँ । रोहित शर्मालाई भारतको एकदिवसीय टोलीको कप्तानबाट हटाइएको छ ।
अष्ट्रेलिया विरुद्धको तीन खेलको एकदिवसीय सिरिजको लागि घोषणा गरिएको भारतीय टोलीमा रोहित शर्मा र विराट कोहली समावेश छन्, तर शुभमन गिललाई कप्तान नियुक्त गरिएको छ । गिल यसअघि नै टेस्ट कप्तान बनिसकेका छन् । रोहित र विराटले अन्तिम पटक यस वर्ष मार्च ९ मा च्याम्पियन्स ट्रफीको फाइनलमा न्यूजील्याण्डविरुद्ध एकदिवसीय खेलेका थिए ।
टोली भारतले अष्ट्रेलिया भ्रमणमा तीन एकदिवसीय र पाँच टी-२० खेल खेल्नेछ । पहिलो एकदिवसीय अक्टोबर १९ मा पर्थमा खेलिनेछ । दोस्रो खेल अक्टोबर २३ मा एडिलेडमा र तेस्रो अक्टोबर २५ मा सिड्नीमा खेलिनेछ । यसपछि पाँच खेलको टी-२० सिरिज हुनेछ । सूर्यकुमार यादवले टी-२० टोलीको कप्तानी गर्नेछन् ।
भारतको एकदिवसीय टिम: शुभमन गिल (कप्तान), रोहित शर्मा, विराट कोहली, श्रेयस अय्यर (उपकप्तान), अक्षर पटेल, केएल राहुल (विकेटकीपर), नितिश कुमार रेड्डी, वाशिंगटन सुन्दर, कुलदीप यादव, हर्षित राना, मोहम्मद सिराज, अर्शदीप सिंह, प्रसिद्ध कृष्ण, ध्रुब जुरेल (विकेट किपर) र यशस्वी जैसवाल ।
टी-२० टिम: सूर्यकुमार (कप्तान), अभिषेक शर्मा, शुभमन गिल (उपकप्तान), तिलक वर्मा, नितिश कुमार रेड्डी, शिवम दुबे, अक्षर पटेल, जितेश शर्मा (विकेटकिपर), वरुण चक्रवर्ती, जसप्रित बुमराह, अर्शदीप सिंह, कुलदीप यादव, हर्षित राना, सन्जु सामसन,रिंकु सिंह, र वाशिंटन सुन्दर ।
प्रमुख छनोटकर्ता अजित आगरकरले २०२७ को एकदिवसीय विश्वकपमा रोहित शर्मा र विराट कोहलीको सहभागिता अझै पुष्टि नभएको बताएका छन् । त्यसैले रोहितलाई कप्तान नबनाइएको उनले बताएका छन् । यस विषयमा उनीसँग परामर्श गरिएको उनले बताए । शुभमन गिललाई टेस्ट र एकदिवसीय दुवैमा कप्तान तोक्ने सम्बन्धमा उनले तीन ढाँचाका लागि तीन कप्तान राख्न सम्भव नभएको बताउदै गिललाई दुई ढाँचामा कप्तान तोकिएको स्पष्ट गरे ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
