काठमाडौं । नेपाली साहित्यका विराट प्रतिभा भैरव अर्यालको स्मृतिमा स्थापित तीन पुरस्कारहरू भैरव पुरस्कार गुठीले बुधबार प्रदान गरेको छ । राजधानीमा आयोजित कार्यक्रममा गुठीले फरक–फरक तीन स्रष्टालाई सम्मान गरेको हो ।
यस वर्षको भैरव पुरस्कार भारतको सिलगुढी निवासी वरिष्ठ हास्य–व्यङ्ग्यकार कृष्ण प्रधानलाई प्रदान गरिएको छ । एक लाख ११ हजार एक सय ११ रुपैयाँ राशिको यो पुरस्कार पहिलो पटक नेपालबाहिरका स्रष्टालाई समर्पित गरिएको हो ।
त्यसैगरी, एक लाख एक हजार एक सय ११ रुपैयाँ राशिको भैरव वाङ्मय पुरस्कार वरिष्ठ चित्रकार हरिप्रसाद शर्मालाई प्रदान गरिएको छ भने, ५१ हजार एक सय ११ रुपैयाँ राशिको भैरव प्रतिभा पुरस्कार विराटनगर, मोरङका विवश पोखरेलले प्राप्त गरेका छन् ।
गुठीका अध्यक्ष रोचक घिमिरे, त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक अर्याल, गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसाललगायतले पुरस्कृत स्रष्टाहरूलाई सम्मान गरेका थिए ।
कार्यक्रममा साहित्यकार नरनाथ लुईंटेल, के.के. कर्माचार्य, प्रमोद प्रधानलगायतले भैरव अर्यालको नेपाली साहित्यमा पुर्याएको योगदानबारे मन्तव्य व्यक्त गरेका थिए । पुरस्कृत स्रष्टाहरूले भैरव अर्यालको नाममा पुरस्कार प्राप्त गर्नु आफ्नो लागि गर्वको विषय भएको बताए ।
सोही अवसरमा हास्य–व्यङ्ग्यकार कृष्ण प्रधानको ४२औँ कृति ‘पुरस्कार लुड्याउने’ को लोकार्पण पनि गरिएको थियो ।
गुठीले पुरस्कार प्राप्तकर्ताहरूको नाम छनोटका लागि साहित्यकार वसन्त रिजालको संयोजकत्वमा साहित्यकारद्वय नरेन्द्रराज पौडेल र प्रह्लाद पोखरेल सदस्य रहेको समिति गठन गरेको थियो ।
त्यसै दिन सम्पन्न गुठीको साधारणसभाले पुनः रोचक घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।




