काठमाडौँ, वैशाख ४ – सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाका १० र दुईवटा संयुक्त समितिका नवनिर्वाचित सभापतिहरूले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन्। सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा आयोजित एक विशेष समारोहमा प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले नवनिर्वाचित सभापतिहरूलाई शपथ गराउनुभएको हो। शपथ ग्रहण कार्यक्रममा उपसभामुख रुवीकुमारी ठाकुर, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम र राष्ट्रियसभाकी उपाध्यक्ष लीलाकुमारी भण्डारी लगायत विभिन्न राजनीतिक दलका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
शपथ लिने सभापतिहरूमा अर्थ समितिका डा. कृष्णहरि बुढाथोकी, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिकी सुम्निमा उदास, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका रहवर अन्सारी तथा कानुन, न्याय तथा मानवअधिकार समितिकी समीक्षा बास्कोटा रहनुभएको छ। त्यसैगरी राज्य व्यवस्था तथा सुशासन समितिमा हरि ढकाल, सार्वजनिक लेखा समितिमा भरतबहादुर खड्का, महिला तथा सामाजिक मामिला समितिमा आकृति अवस्थी, पूर्वाधार विकास समितिमा आशिष गजुरेल र कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा अशोक चौधरीले सभापतिको जिम्मेवारी सम्हाल्नुभएको छ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा डा. ओजस्वी शेरचन, संयुक्त समितिको रूपमा रहेको संसदीय सुनुवाइ समितिमा बोधनारायण श्रेष्ठ र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा गणेश कार्की निर्वाचित हुनुभएको छ। यस पटकको निर्वाचनमा १२ मध्ये ११ वटा समितिमा सत्तापक्ष राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू निर्वाचित भएका छन् भने सार्वजनिक लेखा समितिको नेतृत्व प्रतिपक्षी दल नेपाली कांग्रेसका भरतबहादुर खड्काले प्राप्त गर्नुभएको छ। शिक्षा र राज्यका निर्देशक सिद्धान्त समितिमा दुई–दुई जनाको उम्मेदवारी परेका कारण ज्येष्ठ सदस्यको अध्यक्षतामा बसेको बैठकले ध्वनि मतका आधारमा सभापति चयन गरेको थियो। शपथ ग्रहणपश्चात् सबै नवनिर्वाचित सभापतिहरूले आजै आ–आफ्नो समितिको कार्यकक्षमा पुगेर पदबहाली समेत गर्नुभएको छ।





