काठमाडौँ, – नेपाली साहित्य, कला र सञ्चार क्षेत्रमा विशिष्ट योगदान पुर्याउने पाँच जना व्यक्तित्वहरूलाई नगद राशिसहित सम्मान गरिएको छ। अनेसास बोर्ड अफ ट्रष्टीका पूर्वअध्यक्ष गीता खत्री र अनेसासका पूर्वउपाध्यक्ष राम खत्री (दम्पती) द्वारा स्थापित ‘रामगीता वाङ्मय मन्दिर’ ले आयोजना गरेको एक विशेष समारोहका बीच उनीहरूलाई सम्मानित गरिएको हो।
प्रमुख अतिथि वरिष्ठ साहित्यकार डा. नवराज लम्सालले स्रष्टाहरूलाई जनही ५० हजार रुपैयाँ नगद र सम्मानपत्र हस्तान्तरण गर्नुभयो। कार्यक्रममा वरिष्ठ साहित्यकार मनप्रसाद सुब्बालाई उनको कृति ‘पञ्चतत्त्वको पालाम’ का लागि ‘प्रतीक ढकाल-लक्ष्मी सर्वोत्कृष्ट कृति पुरस्कार’ प्रदान गरियो। यो पुरस्कार पर्वतीय साहित्यका मूर्धन्य स्रष्टा प्रतीक ढकाल र उनकी धर्मपत्नी लक्ष्मी ढकालको नाममा स्थापना गरिएको हो।
त्यसैगरी, वरिष्ठ साहित्यकार प्रा.डा. कृष्णहरि बराल र वरिष्ठ नायिका सुषमा शाहीलाई ‘रामगीता लाइफटाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मानित गरियो। अमेरिकामा रहेर लामो समयदेखि पत्रकारिता गर्दै आएका वरिष्ठ पत्रकार किशोर पन्थीलाई ‘रामगीता विशिष्ट सञ्चार सेवा पुरस्कार’ र युवा रङ्गकर्मी आकाङ्क्षा कार्कीलाई ‘अशेष मल्ल-सावित्री रङ्गकर्म पुरस्कार’ समर्पण गरियो। रङ्गकर्म पुरस्कार वरिष्ठ रङ्गकर्मी अशेष मल्ल र उनकी धर्मपत्नी प्रा.डा. सावित्री कक्षपतीको नाममा स्थापना गरिएको आयोजकले जनाएको छ।
सोही अवसरमा संस्थाका संस्थापक तथा लेखक राम खत्रीद्वारा लिखित नवीन पुस्तक ‘जीवन एक यात्रा अनेक’ को पनि सार्वजनिक गरिएको थियो। विमोचित पुस्तकमा लेखकका जीवनका भोगाइ र यात्राका अनुभूतिहरू समेटिएका छन्।
प्रमुख अतिथि डा. नवराज लम्सालले जीवित स्रष्टाको सम्मानमा पुरस्कार स्थापना गरेर खत्री दम्पतीले सराहनीय कार्य गरेको बताउनुभयो। कार्यक्रममा विशिष्ट साहित्यकारहरू, पूर्व राजदूत, कूटनीतिज्ञहरू तथा नेपाल सरकारका पूर्व सचिवहरूको बाक्लो उपस्थिति रहेको थियो।
समारोहका वक्ताहरूले नेपाली वाङ्मयको श्रीवृद्धिमा यस्ता पुरस्कार र सम्मानले स्रष्टाहरूलाई थप ऊर्जा र प्रोत्साहन मिल्ने विश्वास व्यक्त गरे।





