कोलोराडो, अमेरिका । नेपालमा हालै गएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्बाट प्रभावितहरूप्रति ऐक्यबद्धता जनाउँदै ‘ब्लड डोनर्स अफ अमेरिका’ (बिडिए) कोलोराडोले विशेष भर्चुअल रक्तदान अभियान सुरु गरेको छ।
सेप्टेम्बर १ देखि २१ तारिखसम्म सञ्चालन हुने यस अभियानमार्फत अमेरिकाका विभिन्न स्थानमा बसोबास गर्ने नेपाली तथा अन्य इच्छुक रक्तदाताहरूलाई रक्तदानमा सहभागी हुन आह्वान गरिएको छ।
नेपालमा विपद्को कठिन परिस्थिति रहेको समयमा दूरदराजमा रहेर पनि मानवीय सेवामार्फत सहयोग पुर्याउने उद्देश्यले यो अभियान आयोजना गरिएको बिडिए कोलोराडोका अध्यक्ष नवराज मरासेनीले बताएका छन्। उनका अनुसार रक्तदान केवल रगत दिने कार्य मात्र नभई पीडामा परेका मानिसहरूप्रतिको मानवीय संवेदना, सहकार्य र ऐक्यबद्धता व्यक्त गर्ने एउटा महत्त्वपूर्ण माध्यम हो।
यो भर्चुअल रक्तदान अभियान भएकाले रक्तदाताहरूले अभियानको लिङ्कमार्फत ‘भाइटालेन्ट’ मा आफ्नो पायक पर्ने नजिकको रक्तदान केन्द्र छनोट गरी उपलब्ध मिति र समयअनुसार समय (अप्पोइन्टमेन्ट) बुक गर्न सक्नेछन्। रक्तदान गर्दा बिडिए कोलोराडोको ‘भर्चुअल ब्लड ड्राइभ’ छनोट गरी वा सम्बन्धित अभियानअन्तर्गत दान गरेमा सो रक्तदान यसै अभियानमा समावेश हुनेछ।
‘डोनेट नाउ’ बटनमा क्लिक गरी नजिकैको भाइटालेन्ट केन्द्रमा समय मिलाउन सकिने व्यवस्था मिलाइएको छ। बिडिए कोलोराडोले समुदायका सदस्यहरूलाई आफ्नो अनुकूल स्थान र समयमा रक्तदान गरी अभियानमा जोडिन अनुरोध गरेको छ।
बिडिए कोलोराडो विगतदेखि नै रक्तदानसम्बन्धी सामाजिक तथा मानवीय कार्यहरूमा सक्रिय रहँदै आएको छ। यसअघि संस्थाले सन् २०२६ मा ‘नेपाली घर’सँगको सहकार्यमा दुई पटक तथा ‘आइएनएलएस’ (INLS) कोलोराडोसँगको सहकार्यमा एक पटक रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिसकेको छ। त्यस्तै, रक्तदानसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले गत जुन १४ मा ‘जुम’ (Zoom) मार्फत विशेष सचेतना कार्यक्रमसमेत आयोजना गरिएको थियो।
संस्थाले रक्तदानलाई नियमित मानवीय सेवाको रूपमा अघि बढाउँदै समुदायमा जनचेतना र सहभागिता बढाउने प्रयास गरिरहेको जनाएको छ।
अध्यक्ष मरासेनीले नेपाली समुदायलाई यसपटकको भर्चुअल रक्तदान अभियानमा सक्रिय सहभागिताका लागि अपिल गर्दै भने, “हामी भौगोलिक रूपमा नेपालबाट टाढा भए पनि मानवताको भावनाले हामीलाई सँगै जोड्छ। हाम्रो सानो प्रयास र एक थोपा रगत पनि कसैका लागि जीवनको नयाँ आशा बन्न सक्छ।”
‘नेपालका लागि, नेपालीका लागि, मानवताका लागि’ भन्ने मुख्य सन्देशका साथ सञ्चालित यस अभियानले विपद्को समयमा नेपाली समुदायको मानवीय भावना, सामाजिक उत्तरदायित्व र आपसी सम्बन्धलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ।






